Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • किन हुँदै छ कोरोनाविरुद्धको खोप आउन ढिलाइ ?


    सोमबार, पुष २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘अहिलेसम्म यो देशको खोप ल्याउने भनेर निक्र्योल भएको छैन । हामीले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न सकिने खोप प्राथमिकतामा राखेका छौं ।’

    औषधि व्यवस्था विभागले नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अहिलेसम्म निजी क्षेत्रबाट कसैले पनि निवेदन दर्ता नगरेको जनाएको छ । सरकारले कोभ्याक्समार्फत आउने भ्याक्सिन ढिलो आए निजी क्षेत्रले समेत भ्याक्सिन ल्याउन सक्ने बताए पनि हालसम्म निजी क्षेत्रबाट कसैले पनि अनुमति नमागेको जनाएको हो ।

    औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिएको छ ।

    कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं प्रवक्ता सन्तोष केसीका अनुसार कुनै आधिकारिक आयातकर्ताले भ्याक्सिन प्रयोग अनुमतिका लागि निवेदन दिएमा विभाग तयारी अवस्थामा छ ।

    उनले भने, ‘कुनै पनि आधिकारिक आयातकर्ता विभागले तोकेका कागजातसहित आयो भने भ्याक्सिन प्रयोगका लागि अनुमति प्रक्रिया अघि बढ्छ । तर निजी क्षेत्रबाट अहिलेसम्म निवेदन आएको छैन ।’

    विभागका अनुसार कोरोनाविरुद्धको खोप आयातका लागि मुख्यतः भ्याक्सिन ल्याउन लागिएको सम्बन्धित देशले मास प्रयोगका लागि उपलब्ध गराएको अनुमति पत्र, भ्याक्सिन उत्पादन कम्पनीको आधिकारिक विक्रेता खुलाउने सम्झौतापत्र, सम्बन्धित देशले दिएको उत्पादन अनुज्ञापत्र, सीओपीपीलगायतका कागजपत्र आवश्यक पर्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा बोल्दै नेपालले छिट्टै कोरोनाविरुद्धको खोप ल्याउने बताएका थिए । कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले प्रभावकारिता र सुरक्षा सुनिश्चित भएका खोपलाई मात्रै नेपालमा प्रयोग गर्न अनुमति दिइने बताए ।

    भारतमा १६ जनवरीबाट कोभिड १९ विरुद्धको खोप दिनने तयारी थालिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र फ्रन्टलाइनरलाई यो खोप दिइनेछ । भारतमा उत्पादन भएको खोप भिœयाउन कूटनीतिक प्रयास जारी छ । त्यसका लागि भारतस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भारतीय अधिकारीसँग पहल गरिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकामा प्रशान्त वलीले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार