बालेन साह, सन्तोष पाण्डे, हरिश्चन्द्र्र लामिछाने र रामरतन साह
काठमाडौं । मेयर बालेन्द्र साह(बालेन) र उनका पीए र सल्लाहकारको निर्देशन मान्दामान्दै पनि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गएको पुुस ७ गतेदेखि हाजिर गर्न रोक लगाइयो ।
हाजिर गर्न रोकमात्र लगाइएन, बालेन साहका पीए भूपदेव शाहले ३ बर्षदेखि कानुनबिपरीत ‘एसएसपी’ बनाएका राजु पाण्डेले उनको कार्यकक्षमा ताल्चा लगाए । बालेनका पीए र सल्लाहकारको दाउपेचमा परेका उनले पुस १७ गतेसम्म बिदा लिएका थिए । त्यतिबेलासम्मका लागि गोविन्द शर्मालाई निमित्त दिएका गुरागाईंलाई पुस १७ पछि पनि हाजिर गर्ने वातावरण बनाउने काम बालेनको सल्लाहकारको टीमले गरेन ।
प्रक्रिया नै पूरा नभई प्रमुख प्रशासकीय अधिकृत गुरागाईले काठमाडौं भ्यू टावरको नक्सा स्वीकृत गरेको आरोप लगाउँदै बालेनले उनलाई हाजिर गर्नबाट रोकेका थिए । काठमाडौं भ्यू टावरको नक्सा स्वीकृतिमा भ्रष्टाचार भएको भन्दै मेयर साहले उच्च अदालतका पूवन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा छानबिन समिति बनाए । जुन समितिले कामै गर्न नपाई पौडेललाई सरकारले ऋण असुली पुनरावेदन न्यायाधीकरणको अध्यक्षमा नियुक्ति गर्यो । ऋण असुलीमा नियुक्तिअघि नै पौडेलले समितिमा बस्न अस्वीकार गर्दै राजीनामा दिइसकेका थिए ।
पौडेलपछि मेयर बालेनका सल्लाहकार सुनिल लम्सालका आफन्त पूर्वसचिव शंकर पाण्डेको अध्यक्षतामा अर्को समिति बनाए । सो समितिले समेत गुरागाईलाई दोषी देखाउन सकेन । छानबिन समितिले दोषी ठहर गर्न नसकेपछि हाजिर गराउनुपर्नेमा गराइएन । र, ३ महिनासम्म कर्मचारी र शिक्षकले ६ महिनासम्म तलव नपाएको, विकास निर्माणका काम नै ठप्प हुँदा पनि मेयर साह फेसबुकमा स्टाटस लेख्ने तर समस्या समाधानमा गम्भीर नभएपछि चैत २१ गते उपमेयरको अगुवाइमा वडाध्यक्ष र कर्मचारीहरुले सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराएका छन् ।
भ्यूटावरको नक्सा प्रकरण, धान खाने सल्लाहकार, चोट पाउने गुरागाईं
पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यूटावरको नक्सा स्वीकृति गराउनका लागि मेयरका पीए भूपदेव शाह, सल्लाहकार सन्तोष पाण्डे, सुनिल लम्साल, हरिश्चन्द्र लामिछानेको टोली नै अग्रसर भएर लाग्यो । स्रोतका अनुसार भ्यूटावरका लगानीकर्ता र महानगरको यो टोलीबीच मोलमोलाई मिलेपछि उनीहरुकै दबाबमा प्रमुुख प्रशासकीय अधिकृत गुरागाईले नक्सा स्वीकृति प्रक्रिया अगाडि बढाएका थिए ।
३० प्रतिशत गोल्डेन सेयर(विनालगानी) र लेनदेनमा डिल भएपछि उनीहरुले मेयरमार्फत् नक्सा स्वीकृतिको प्रक्रिया अगाडि बढाएको महानगर स्रोत बताउँछ । स्रोतका अनुसार नक्सा स्वीकृत भइसकेपछि टोलीले मागेको सेयरको प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त राखे तर भ्यूटावरका संचालकले आनाकानी गरिदिए । गोल्डेन सेयरको सर्त पूरा नगरेपछि सल्लाहकार टीमले नक्सा स्वीकृतिको सम्पूर्ण दोष प्रमुख प्रशासकीय अधिकृतमाथि लगाउँदै उनलाई हाजिर हुन रोके, कार्यकक्षमा तालाबन्दी गरिदिएका थिए ।
महानगरका एक वडाध्यक्ष भन्छन्–‘बालेन मेयर भएको महानगरमा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर विवादित भ्यूटावरको नक्सापास सम्भव नै छैन । मेयरका पीए र सल्लाहकारको टोलीको स्वार्थ पूरा नभएपछि गुरागाईलाई बलिको बोको बनाएर उनीहरु पानीमाथिको ओभानो बन्ने खोजे पनि महानगरका प्रायः सबैलाई भ्यूटावरको भित्री कथा सबै थाहा छ ।’
सल्लाहकारको टोलीले भ्यूटावरबाट हरिश्चन्द्र लामिछानेमार्फत् भेटीसमेत लेनदेन गरेको आरोप छ । तर, गोल्डेन सेयर नपाएपछि अहिले उनीहरु प्रमुख प्रशासकीय अधिकृततिर सोझ्याएर मात्र चित्त नबुझी भ्यूटावर नै भत्काउन उद्यत भएका छन् ।
बालेनका सल्लाहकारको नक्सापासमा पनि चलखेल
ललितपुर महानगरमा नक्सापासमा घोटाला गरेको थाहा पाएपछि मेयर चिरीबाबु महर्जनले ३ बर्ष जिम्मेवारीबिहीन राखेका डीई हरिश्चन्द्र लामिछानेलाई मेयरका भवन हेर्ने सल्लाहकार सन्तोष पाण्डेले सहरी ब्यवस्थापन बिभागको प्रमुखमा ल्याएका छन् ।
लामिछानेलाई सहरीमा ल्याएर सन्तोष पाण्डेको नेतृत्वमा काठमाडौं महानगरमा नक्सापासमा लुटधन्दा चल्दैआएको छ । ५ हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलका भवनमा सन्तोष पाण्डे स्वयंले डिल नगरी पास हुँदैन । सन्तोष पाण्डे र भूपदेवको सेटिङमा हिल्टन होटल, शेराटन होटलको नक्सापास भएको स्रोत बताउँछ । बसेरा बुटिक होटलले सबै मापदण्ड मिचे पनि पूर्वमेयर विद्यासुन्दर शाक्यले नक्सापास गरेका थिए । तर बालेन आएपछि मापदण्डबिपरीत बनेका तर नक्सापास गरेका संरचना भत्काए, तर बिशाल पण्डितको बसेरालाई छुन पनि सकेका छैनन् । बसेर बुटिक होटल सिंहदरबारभन्दा अग्लो बनाएकाले सुरक्षाका दृष्टिले पनि जफत गरी भत्काउनुपर्ने प्रतिवेदन गृहमन्त्रालयले गठन गरेको समितिले दिए पनि अहिलेसम्म छुन सकेका छैनन् ।
महानगरका ती वडाध्यक्ष भन्छन्–सल्लाकार र पीएको टोली नै बालेनको कमजोरी हो, तिनैले समस्या खडा गरी भ्यूटावरमा बालेनलाई विवादमा ल्याएका हुन् । बालेनले मापदण्ड बिपरीतका संरचना भत्काउने, सहर सुन्दर बनाउने र ड्यामेज सामान बिक्री गर्ने फुटपाथ अतिक्रमण हटाउने राम्रो काम गरेका छन् । तर बालेनलाई महानगरबासीको पहुँचबाट टाढा राखी उनको सल्लाहकार टीमले अपारदर्शी र कमिसनमुखी कार्य गर्दैआए पनि त्यसलाई रोक्न उनले सकेका छैनन् ।
भ्रष्टाचारमा मुछिएकालाई ल्याउँदै महत्वपूर्ण जिम्मा
मेयर बालेन साहले महानगरका कर्मचारीप्रति विश्वास नगरी मासिक लाख डेढ लाखभन्दा बढी तलव सुबिधा दिएर दर्जनभन्दा बढी सल्लाहकार भर्ना गरे । जसका कारण उनी एकपछि अर्को विवादमा पर्दै गएका छन् । बालेनको सल्लाहकार र पीएको टीमले ललितपुर महानगरपालिकामा भ्रष्टाचारमा मुछिएर जिम्मेवारीबिहीन राखेका हरिश्चन्द्र लामिछानेलाई सहरी विकास बिभागको प्रमुख र रामरतन साहलाई खरिद एकाई प्रमुख बनाएका छन् । यो लामिछाने र साह टेण्डरमा चलखेल गर्ने कार्यमा निपूर्ण भएकाले उनीहरुलाई ल्याएर काठमाडौंका बिभिन्न ठाउँमा रंगीन ब्लक(टायल) छाप्ने ठेक्कामा समेत सेटिङ गरिएको छ । जसको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि ठेकेदार निकै तनावमा परेका थिए ।
मधेश प्रदेशको बारा र पर्सामा दर्ता भएको कम्पनीसँग साहले सेटिङ गरी सोही कम्पनीको ब्लक खरिद गर्नेगरी क्राइटेरिया बनाई प्रतिस्पर्धालाई सीमित गरी ठेक्का दिइएको थियो । महानगरपालिकाले फुटपाथ सुधार परियोजनामा करिब २ अर्ब रुपैयाँ खर्च गर्ने बनाएको छ । जसका लागि महानगरले रंगीन ब्लक खरिद गर्दा भएको सेटिङका बारेमा छानबिन गरेपछि ठेकेदार छटपटीमा परेका थिए । पछि तिनै ठेकेदारमार्फत् मिलाइएको चर्चा महानगरमा हुँदैआएको छ । एसियन कंक्रिटोले उत्पादन गरेका ती ब्लकको गुणस्तरमा समेत प्रश्न उठेको छ । महानगरकै सहरी विकास बिभागले गरेको अन्ुगमनका क्रममा ब्लक गुणस्तरीय नभएको भनिसकेको छ । २ अर्ब रुपैयाँ बराबरको रंगीन ब्लक फुटपाथमा प्रयोग गर्ने क्रममा २५ करोडको सेटिङ गरेको आरोप खरिद एकाई प्रमुख साहमाथि लाग्दैआएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend