काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क गोंगबुले लुटेराबाट बरामद गरेको ३० तोला सुन महाराजगंज बृत्तमा बुझाए पनि उक्त सुन गायब पारिएपछि काठमाडौं परिसरले यसको छानबिन सुरु गरेको छ । काठमाडौं प्रहरी परिसरले आज महानगगरीय प्रहरी बृत्तका डीएसपी रोशन खड्कालाई ३० तोला सुनका बारेमा बोलाएर सोधीखोजी गरेको छ ।
गएको पुस १० मा सामाखुसीको अल नेपाल अस्पतालअगाडि दोलखाका संयोग कार्की, सुवास तिमिल्सिनासहित ५ जनाले बिक्री गर्न खोजेको ३० तोला बराबरको ६ वटा सुनको ब्रासलेट लुटिएको थियो । लुटपाटमा संलग्न सुर्खेतका दीपक कार्कीलाई नयाँबसपार्कको प्रहरीले पक्राउ गरी सुन समेत बरामद गरेको थियो । लुटपाटमा परेका संयोग कार्कीले योजनाकार कार्कीलाई पक्राउ गरे पनि महाराजगंज प्रहरीले त्यही राति नै छाडेको रहस्य खोलेका छन् ।
सुन लुटपाटमा संलग्न कार्कीलाई थुनाामा राख्न पीडितले आग्रह गर्दा पनि महाराजगंज प्रहरीका डीएसपी रोशन खड्काले पीडित कार्कीहरुलाई नै सुनको बिल खै भनेर तर्साएका थिए । सुन लुटेरालाई थुनामा राखी आफ्नो सुन फिर्ता लिन गएका उनीहरुलाई डीएसपी खड्काले उल्टै मुद्दा चलाउने चेतावनी दिएको खुल्नमा आएको छ । यो कुरा काठमाडौं प्रहरी परिसरमा पुगेपछि एसएसपी अशोक सिंहले छानबिन सुरु गरेका छन् । सुन गायब पारेकोबारेमा काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने–‘बरामद सुनका बारेमा रिपोर्टिङ भएको रहेछ, त्यसबारेमा यथार्थता के रहेछ भनेर हामी अनुसन्धन गर्दैछौं ।’