एजेन्सी । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको समाचार बीबीसी नेपालीले लेखेकाे छ।
श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।
उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।
विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।
विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसी इन्डोनेशियाली सेवालाई आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन्।
सो विमानसँग अन्तिमपटक स्थानिय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ।
देशको यातायात मन्त्रालयले खोजी कार्य भइरहेको जनाएको छ।
विवरणहरूका अनुसार बोइङ ७३७-५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो। उक्त विमान राजधानी जकार्ताबाट उडेको थियो।
देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ।पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए।
तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए।