प्रकाश रायमाझी
राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म संस्कृति एवं मौलिक परम्परालाई पनि जोगाएको छ ।
महाशिवरात्रिमा सेना दिवस, घोडेजात्रा, बडादसैँमा फूलपाती आदि महत्वपूर्ण पर्वलाई भव्यतापूर्वक मनाउने परम्पराले नेपाली सेनामार्फत मुलुकको श्रीबृद्धिमा अमूल्य योगदान पुगेको छ । यसर्थ, महाशिवरात्रीको अवसर नेपाली सेनाको भूमिका र महत्वलाई गहन रूपमा बुझ्ने अवसर पनि हो ।
नेपालको भौगोलिक विकटता र भूराजनीतिक अवस्था दुवै चुनौतीपूर्ण छन् । उत्तरमा विशाल हिमालय शृंखला छ भने दक्षिणमा तराईको समथल भूमि छ । नेपाल विश्वकै सर्वशक्तिमान बन्ने दौडमा रहेका भारत र चीनले घेरिएको छ । यस कारण नेपाल सामु भौगोलिक चुनौती मात्र होइन, सामरिक जटिलता र सुरक्षा चुनौती पनि छन् । नेपालको राष्ट्रिय राजनीति, आन्तरिक सुरक्षा र परराष्ट्र नीतिका साथै यहाँको राजनीतिक स्थायित्व आफूहरुका लागि महत्वपूर्ण रहेको दुई छिमेकीले बारम्बार दोहोर्याउँदै आएका छन् ।
नेपालको राजनीतिक नेतृत्वको असक्षमता भनौँ वा बिबिध त्रुटीहरुका कारण हुँदै गएको कूटनीतिको प्रत्युत्पादन, भारत र चीनमात्र होइन, यी मुलुकसँग प्रतिस्पर्धामा रहेका अन्य मुलुकले समेत नेपालमा गतिविधि बढाउन थालेका छन् । यस जटिल परिस्थितिमा मुलुकले आफ्नो अस्तित्व र सुरक्षालाई सन्तुलनमा राख्नुपर्ने हुन्छ । यसमा नेपाली सेनाको रणनीतिक क्षमता र कूटनीतिक कुशलता मुलुकको अस्तित्व रक्षाका लागि महत्वपूर्ण हुन गएको छ ।
सैना र सैन्य नेतृत्वको भूमिका राष्ट्रिय सुरक्षामा कति महत्वपूर्ण हुन्छ भन्ने विश्वपरिवेशमा देखा परेका अशान्तिका केही घटनाले पनि स्पष्ट पारेका छन् । एक्काईसौँ शताब्दीमा मानिसलाई चाहिने शान्ति सुव्यवस्था र खुसी भएर आफ्ना प्रियजनसँग जिन्दगी व्यतीत गर्न पाउने अवसर नै हो ।
राजनीति र सैन्य नेतृत्वले आफ्नो सन्तुलन गुमाउँदा कूटनीतिक माध्यमबाट सुल्झने समस्या चर्किंदै गएर लाखौँ मानिसले ज्यान गुमाइरहेको उदाहरण हाम्रै आँखा अगाडि छन् । नेपाली जनताको सौभाग्य नै भनौँ, पटकपटकको राजनीतिक जटिलता र उतारचढावका बाबजुद नेपाली सेनाले उच्च व्यावसायिकता प्रदर्र्शन गर्दै राष्ट्रिय सुरक्षालाई अक्षुण्ण राख्न सफल भएको छ । यसका लागि हामी सबै जनता नेपाली सेनाप्रति कृतज्ञ छौँ ।
नेपाली सेनाले आफ्नो सैन्य क्षमतालाई सुदृढ पार्दै विश्व शान्ति र क्षेत्रीय स्थिरतामा समेत योगदान पुर्याउँदै आएको छ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा नेपाली सेनाको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको छ । द्विपक्षीय सैन्य अभ्यास र अन्तर्राष्ट्रिय सहयोगले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, नेपाली सेनाको क्षमता विकासमा मिहिनेत र लगानी अझै बढाउनुपर्ने घटनाक्रमले इंगित गर्न थालेका छन् । सेना भन्नासाथ युद्धमै होमिनुपर्छ भन्ने मानसिकता पनि ठीक होइन, तर आइपर्दा परिस्थितिको सामना गर्न सक्ने सबल सेना हुनु उत्ति नै आवश्यक छ । सक्षम र सबल सैन्य शक्तिले ‘दुस्मन’हरूका विरुद्ध ‘डिटरेन्स’को रूपमा काम गर्छ, जसले गर्दा अनावश्यक द्वन्द्वबाट देश र जनता सुरक्षित रहन्छन् ।
त्यसका लागि सैन्य प्रविधिमा लगानी बढाउँदै अध्ययन अनुसन्धानमा जोड दिनु आवश्यक छ ।
आफ्नो सुरक्षाका लागि आवश्यक माटो सुहाउँदो प्रविधि आफैँले विकास गर्न सक्ने हो भने राष्ट्रिय सुरक्षामा त योगदान पुग्छ नै, सानो बजेटले नै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सहज हुन्छ । नेपाल जस्तो सानो देशले अन्य मुलुकबाट प्रविधि खरिद गरेर आफ्नो सैन्य क्षमतालाई सुदृढ गर्नु कठिन कार्य हो । भारतलगायत धेरै मुलुकले आफ्नो सुरक्षाका लागि आफैँ प्रविधि विकास गर्नुपर्ने आवश्यकता देखेरै त्यसमा मनग्य लगानीका साथै अध्ययन अनुसन्धानमा पनि जोड दिन थालेका छन् । यसमा हामीले पनि ढिलो गर्नुहुँदैन ।
प्रविधिकै माध्यमले विश्वसामु देखा परेका साइबर सुरक्षा, जलवायु परिवर्तन र सीमा सुरक्षाजस्ता नयाँ नयाँ चुनौतीलाई समेत सामना गर्न सजिलो हुनेछ । हामीले सामना गर्ने चुनौती हाम्रै देश र परिवेश अनुसार विशिष्ट प्रकृतिको हुने भएकाले यसमा यथाशीघ्र ध्यान जानु आवश्यक छ । यसमा नेपाली सेनाले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । नेपाल जस्तो देशको लागि सैनिक कूटनीतिले शान्ति र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।
युद्धबिनाको शान्ति पनि महत्वपूर्ण हो । नेपाली सेनाले आफ्नो भूमिकालाई युद्धमा मात्र सीमित नगरी, विपद् व्यवस्थापन, विकास निर्माण र सामुदायिक सेवामा पनि विस्तार गरेको छ । विपतको घडीमा ज्यानको पर्वाह नगरी नेपाली दाजुभाइ दिदीबहिनीका निमित्त सेनाले आफूलाई समर्पित गर्दै आएको छ । यसले नेपाली सेनालाई जनताको नजिक ल्याएको छ र राष्ट्रिय एकतालाई मजबुत बनाएको छ ।
नेपाली सेनाको भूमिकालाई हेर्दा यो केवल सैन्य शक्ति मात्र नभई, राष्ट्रिय पहिचान, सांस्कृतिक धरोहर र सामाजिक विकासको अभिन्न अंग हो भन्ने स्पष्ट हुन्छ । नेपाली सेनाले आफ्नो कर्तव्य र दायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने हो भने नेपालको शान्ति, सुरक्षा र समृद्धिसमेत सुनिश्चित हुनेछ ।
सेना भनेको आफैँमा एउटा देश पनि हो । बेरोजगार युवाको विदेश पलायनलाई रोक्न पनि सेनाको संख्यामा वृद्धि गर्दै यसलाई आकर्षक पेसाका रूपमा विकास गरिनुपर्छ । देशको उन्नतिका लागि सेनाको भूमिका बढाउन सकिने क्षेत्र अझै पनि प्रशस्त छन् । विषम राजनीतिक परिदृश्यमा देशको स्थायित्व र नेपालीको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षालाई दिगो राख्न आन्तरिक राज्यविप्लवको झिल्कालाई बेलैमा निराकरण गर्नका लागि पनि नेपाली सेनालाई अझै मजबुद बनाउनु पर्ने आवश्यकता छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend