Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतले थप्यो बंगलादेशकी लेखिका तस्लिमा नसरीनको निर्वासनको समय


    बुधबार, कार्तिक ७ २०८१
    945
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । भारतले निर्वासित बंगलादेशी लेखिका तस्लिमा नसरीनको भारतीय निर्वाचन समय थप गरेको छ ।

    आफ्नो भारतको निर्वासनको समय थप भएपछि उनले गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छन् । तर उनको निर्वासनको समय कहिलेसम्मका लागि थपिएको छ भन्ने स्पष्ट छैन ।

    नसरीनले यसअघि सामाजिक सञ्जालमार्फत गृहमन्त्री अमित शाहसँग सहयोग मागेकी थिइन् । उनले लेखेकी थिइन्- ‘मेरो भारतीय बसोबास अनुमतिको म्याद जुलाईमा सकिएको छ र गृह मन्त्रालयले नवीकरण गरिरहेको छैन ।

    भारत मेरो दोस्रो घर हो र जुलाई २२ पछि अनुमति नवीकरण नहुँदा म दुखी छु । यदि सरकारले मलाई भारतमा बस्न अनुमति दियो भने म आभारी हुनेछु ।’

    नसरीन सन् २०११ देखि भारतमा बस्दै आएकी छिन् र उनीसँग स्वीडेनको नागरिकता पनि छ । तस्लिमाको लेखका कारण सन् १९९४ मा बंगलादेशमा उनीविरुद्ध फतवा जारी भएको थियो । उनको उपन्यास ‘लज्जा’ (१९९३) र उनको आत्मकथा ‘अमर मायेबेला’ (१९९८) का कारण उनलाई फतवा जारी गरिएको थियो ।

    भारतमा बाबरी मस्जिद भत्काइएपछि बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाको कथालाई लिएर ‘लज्जा’ विवादमा परेको थियो । उपन्यासमा बलात्कार, लुटपाट र हत्याका घटनाहरू उल्लेख गरिएको छ । यसले इस्लामिक कट्टरपन्थीहरूलाई आक्रोशित बनायो । ठूलो विरोधपछि नसरीनले बंगलादेश छोड्नुपरेको थियो ।

    त्यसयता उनले धेरै चुनौतीको सामना गर्नुपरेको छ । उनले भारतमा शरण लिएपनि उनले बारम्बार आफ्नो स्थान बदल्नु परेको थियो । उनी पहिले कोलकाता र जयपुरमा बसिन्, त्यसपछि स्थायी निर्वासन अनुमति अन्तर्गत दिल्लीमा बसोबास गरिन् ।

    मिडिया रिपोर्टका अनुसार तस्लिमा सन् १९९८ मा केही दिनको लागि बंगलादेश गएकी थिइन् तर त्यतिबेला शेख हसिनाको सरकार थियो । त्यसैले उनलाई बंगलादेश सरकारले फेरि देश छाड्न बाध्य पारेको थियो । तस्लिमाले यसका लागि शेख हसिनाकी प्रतिद्वन्द्वी खालिदा जियालाई पनि जिम्मेवार मान्छिन् ।

    तस्लिमा पनि धेरै वर्ष युरोपमा बसेकी थिइन् । उनी सन् २००४–२००५ मा भारत आएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार