काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात जेल चलान भएका छन्।
भ्रष्टाचारको आरोप लागेका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि जेल चलान भएका हुन्।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।
बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मामा लगेको आरोप थियो ।
उनलाई अख्तियारले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको भन्दै विशेष अदालतमा २२ माघ २०७६ मा मुद्दा चलाएको थियो।
उनीसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो।
अदालतको आदेशपछि बस्न्यात मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा बस्नुपर्नेछ। यद्यपी उनले विशेष अदालतको आजको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दिन भने पाउनेछन्।
२९ चैत ०६६ को मन्त्रिपरिषद् बैठकले नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको थियो । जग्गासम्बन्धी विषय भूमिसुधार मन्त्रालयको क्षेत्राधिकार भए पनि नाटकीय रूपमा भौतिक पूर्वाधार मन्त्रालयबाट अघि बढाइएको थियो । मन्त्रालयमा विजय गच्छदार मन्त्री थिए भने बस्न्यात सचिव ।
सचिव बस्न्यातले फाइल उठाए भने मन्त्री गच्छदारले स्वीकृत गरेर मन्त्रिपरिषद्मा प्रतिनिधित्व गरेका थिए । तत्कालीन प्रधानमन्त्री माधव नेपालको मन्त्रिपरिषद्ले यो फाइल सदर गरेपछि सरकारी जग्गा व्यक्तिको नाममा गएको थियो।