काठमाडौं । कोभिड -१९ का कारण आठ महिनादेखि बन्द रहेको सदर चिडियाखाना आजदेखि खुल्दैछ । चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि खुल्ने भएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने चिडियाखानाका प्रमुख डा।चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनु पर्नेछ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । भीडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिइनेछ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनु पर्नेछ । जति जना बाहिर निस्कन्छन्, त्यतिका दरले अरुलाई भित्र प्रवेश गर्न दिइनेछ ।
यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन ।, यस्तैभित्र बालबालिकालाई खेलाउन पाइने छैन । यसअघिझैं हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुल्नेछ । भीडभाड हुन नदिन अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ । चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेलले बताए ।