Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • चोरीशिकारमा संलग्न भएको आशङ्कामा २४९ जना पक्राउ


    बुधबार, मंसिर २४ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशङ्कामा २४९ जनालाई पक्राउ गरेको छ । 

    उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो ।
     
    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी १२३ जना माछा मार्ने घटनामा संलग्न भएका हुन् । यसैगरी घाँस दाउराका ६३ जना, बालुवा गिट्टीका २५ जना, काठका १३ जना, गैँडा चोरीशिकारीका एक जना र अन्य वन्यजन्तु तस्करीका २३ जना रहेको उहाँले जानकारी दिनुभयो ।
     
    साउनमा १७ जना, भदौमा १०२ जना, असोजमा २१ जना, कात्तिकमा ५४ जना र मङ्सिरमा ५५ जना पक्राउ परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैँडा तस्करीका एक जना र काठका दुई जना कारागार चलान भएका छन् । उहाँले पछिल्लो समय चोरीशिकारका घटना बढेसँगै सुरक्षामा कडाइ गरिएको छ ।
     
    पैदल, हात्ती, साइकल, डुङ्गा, गाडीलगायतबाट निकुञ्ज कर्मचारी र सेनाको संयुक्त टोलीले गस्ती गरिरहेको छ । दिन र रातको समयमा निकुञ्जका संवेदनशील क्षेत्रमा गस्ती बढाइएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष शुरु भएयता चार वटा दुर्लभ एकसिङ्गे गैँडा तस्करले मारेको अवस्थामा फेला परेका छन् । यससँगै सुरक्षालाई थप कडाइ गरिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार