काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा करारसेवामा कार्यरत इन्जीनीयर पर्वत पौडेललाई घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनको लागि ७५ हजार रुपैयाँ घुस लिंदालिंदै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीसँग ७५ हजार रुपैयाँ माग गरी होटल व्यवसाय गर्ने नारायणप्रसाद भट्टलाई लिन लगाएका थिए । अख्तियारले भट्टसहित उनलाई घुस लिन परिचालन गर्ने इन्जीनीयर पौडेललाई पनि नियन्त्रणमा लिएको छ ।
इन्जीनीयर पौडेलले अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी इजाजत पत्र दिएबापत घुस लिएको तथ्य पुष्टि हुन आएकाले उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा उनीबिरुद्ध ७५ हजार रुपैयाँ नै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।