काठमाडौं । नेपाल प्रहरीको लत्ताकपडा खरिदमा गुणस्तर परीक्षणमै चलखेल हुने गरेको पाइएको छ । नेपालको गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा धेरै नै अनियमितता हुने गरेको गुनासोपछि नेपाल प्रहरीले उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा भारतीय कम्पनीमा परीक्षण गर्न पठाउने गरेको थियो । प्रहरुीले खरिद गर्ने प्रायः सबै सामान भारतमा टेष्टका लागि पठाउने गरेको छ । तर ठेकेदार र भण्डारका हाकिमको सेटिङमा सामान टेष्ट गर्न पठाउँदा समेत चलखेल गर्ने गरेको छानबिनबाट खुलेको छ । प्रहरीमा बुझाएको सामानमध्येबाट गुणस्तर परीक्षणका लागि पठाउनुपर्नेमा त्यसो नगरी अर्कै पीस पठाउने गरेको प्रहरी प्रधान कार्यालयको छानबिनबाट खुलेको छ ।
एक ठेकेदारले ऊनी कपडा खरिदमा ठेकदारले प्रहरीमा बुझाएकोभन्दा अर्कै कपडाको परीक्षण गराई गुणस्तर रिपोर्ट ल्याउने खोजेको खुलासा भएको छ । प्रहरीमा लत्ताकपडा खरिदको ठेक्का पाएको क्राउन टेक्सटाइल कम्पनीले प्रहरीलाई झुक्याउने प्रयास गरेका हुन् । उक्त कम्पनीका संचालक पिताम्बर मुन्का हुन् । दुई वर्षअघि मुन्काको कम्पनीले करिब २६ हजार मिटर ऊनी कपडा खरिद गर्ने ठेक्का पाएको थियो । उक्त कपडा दिल्लीको आइटेक कम्पनीमा टेष्ट गर्न पठाउँदा फेल भएको रिपोर्ट आयो । प्रहरुीले कपडा खरिद गरेन । क्राउन टेक्सटाइलको बैंक ग्यारेन्टी जफत गरी कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठायो ।
मुन्काले प्रहरीको निर्णयबिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे । उनले आफू वा आफ्नो कम्पनीको प्रतिनिधि रोहबर नराखी नमूनाको गुणस्तर परीक्षणका लागि दिल्ली पठाएको जिकिर गर्दै मुद्दा दायर गरेका थिए । जिल्लामा उनको पक्षमा आदेश आएन । फेरि उच्च अदालत पाटनमा पुनरावेदन गरे । उच्चले ठेकेदार मून्काको पक्षमा फैसला गर्यो । प्रहरी फेरि सर्वोच्च अदालतमा गयो । मुन्काले प्रहरीमा बुझाएको सामान आफू वा आफ्नो कम्पनीले तोकेको प्रतिनिधिको रोहबर नराखी गुणस्तर परीक्षणमा पठाएको जिकिर गरेपछि सर्वोच्च अदालतले पुनः गुणस्तर परीक्षण गरी खरिद गर्न आदेश दियो ।
प्रहरीले मुन्काको ऊनी कपडाको गुणस्तर परीक्षण गर्न चेन्नईको आइटेक कम्पनीमा पठायो । त्यसक्रममा प्रहरीमा बुझाएको भन्दा अर्कै कपडा टेष्टमा पठाएका थिए । प्रहरुीले पहिला दिल्लीमा फेल भएको रिपोर्ट पनि सँगै पठाएको थियो । दिल्लीको आइटेक कम्पनीले टेष्ट गर्दा फेल देखिएकाले चेन्नईको उही कम्पनीले पास देखाउने कुरै भएन । ठेकेदार मुन्काले भण्डारका डीएसपीसँग सेटिङ गरी बुझाएको भन्दा अर्कै नमूना दिई मदन केसीमार्फत् टेष्ट गर्न पठाएका थिए । तर त्यो समेत पास भएन । तर कीर्ते गुणस्तर रिपोर्ट ल्याउन खोजेको पाइएपछि मुन्का बिरुद्ध भने कारबाही हुने भएको छ ।
ठेक्कामा मुन्का र प्रहरीको भण्डारका डीएसपी केसीको सेटिङमा बुझाएको पीसबाट गुणस्तर टेष्ट गर्न नपठाई अर्कै नमूना पठाइएको थियो । यस्तो बदमासी भएको कुरा खुलेपछि प्रहरीले सुरुमा एसएसपी कुवेर कडायतको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिनले गुणस्तर परीक्षणमा प्रहरीमा बुझाएको भन्दा अर्कै कपडाको परीक्षण रिपोर्ट ल्याएको खुलेको हो । प्रहरीले कीर्ते रिपोर्ट बनाएर ल्याउने मुन्कामाथि कारबाही गर्ने भएको छ ।
एसएसपी उमेश रञ्जितकार नेतृत्वको छानबिन समितिले ठेकदार मुन्कामाथि कारबाही गर्न सिफारिस गरेको छ । ठेकेदारलाई कारबाही गर्न सिफारिस गर्ने प्रहरीले भण्डारका डीएसपी मदन केसीलाई भने उन्मुक्ति दिएको छ । मुन्काले भण्डारका डीएसपीकै सेटिङमा बुझाएको भन्दा अर्कै कपडाको गुणस्तर परीक्षण गराएर ल्याएका हुन् । प्रहरी स्रोतका अनुसार भण्डारका डीएसपीको मिलेमतोविना बुझाएको भन्दा अर्कै कपडाको गुणस्तर रिपोर्ट ल्याउने कुरा संभव हुँदैन । भण्डारका डीएसपी केसीकै ब्यक्तिगत इमेल आइडीमा गुणस्तर रिपोर्ट आएकाले पनि उनीमाथि पनि कारबाही हुनुपर्नेमा उनलाई उन्मुक्ति दिने र ठेकेदार मुन्कामाथि मात्र कारबाहीको सिफारिस प्रहरीको छानबिन समितिले गरेको छ । डीएसपी केसीले आफ्नो इमेल आइडी ह्याक गरेर रिपोर्ट पठाएको बयान छानबिनका क्रममा दिएको प्रहरी स्रोतले बतायो ।