Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा आलु बिउको अभाव,किसानहरु मारमा


    आइतबार, कार्तिक ३० २०७७
    705
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • लहान। कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् ।

    आलु खेती लगाउने समयमा आलु बिउमा व्यापारीहरुले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरुले गुनासो गरेका छन् । गत वर्ष ५० किलो (एक बोरा) को एक हजार रुपैयाँ पर्ने आलु बिउको मूल्य यस वर्ष अहिले रु तीन हजार रुपैयाँमा बिक्री भइरहेको किसानहरुले बताएका छन् । आलु रोप्नका लागि खेत तयार पारेर बिउका लागि लहान बजार आइपुग्नुभएका तरेगनाका किसान शत्रुघन चौधरीले अचानक बिउको मूल्य बढेकाले समस्यामा परेको गुनासो गर्नुभयो । “अघिल्लो वर्ष रु एक हजारमा एक बोरा बिउ खरिद गरेको थिएँ, यस वर्ष पनि त्यहीअनुसार मूल्य होला भन्ने सोचेर बिउ खरिद गर्न आएँ तर मूल्य बढेपछि बिउ खरिद नै नगरी रितो फर्किनु परेको छ ।” अचानक बजारमा आलु बिउको मूल्य बढे पनि बजार अनुगमन नभएकाले व्यापारीहरुको मनपरी बढेको चौधरीको कथन छ ।

    “एकातिर आलुको मूल्य बढेको छ भने अर्काेतिर बोरामा पनि कम तौल रहने गरेको छ”, सिरहाको सीतापुरका सुभाष साहले भन्नुभयो, “बोरामा ५० किलो रहेको बताए पनि घरमा लगेर जोख्दा कुनै बोरामा ४६, ४७ र ४८ किलो मात्र आलु पाइएको छ ।” बोरामा आलु कम पाइए पनि त्यस्ता व्यापारीमाथि कुनै कारवाही नभएको उहाँको गुनासो छ । सिरहाका बजारहरुमा अहिले बङ्गाली, सेतो र रातो आलुको बिउ बिक्री भइरहेको छ । यस वर्ष बङ्गाली आलु रु दुई हजार ९००, सेतो आलु रु तीन हजार १०० र रातो आलु बीउ रु तीन हजार १०० मा विक्री भइरहेको छ । बन्दाबन्दीका कारण भारतको पश्चिम बङ्गालबाट थोरै मात्रामा आलु आएको र त्यहाँबाट महँगो खरिद गरेर ल्याउनुपरेकाले महँगोमै बिक्री गर्नुपरेको व्यापारीहरुले बताएका छन् ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार