Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार महिनापछि छाब्दी मुहानको पानी


    आइतबार, कार्तिक ३० २०७७
    890
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • तनहुँ । जिल्लाको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी (खिरखादी) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले छाब्दी बाराही मुहानदेखि ल्याएको अवरुद्ध पानी चार महिनापछि पुनः शुरु भएको छ । करिब सात किलोमिटर दूरीमा पर्ने व्यास–१४ स्थित छाब्दी बाराही मुहानबाट ल्याइएको उक्त खानेपानी गत असार महिनादेखि अवरुद्ध भएको थियो । मुहानबाट करिब २०० मिटर नयाँ पाइप जडान गरी पानी पुनः आपूर्ति गर्न खोजिए पनि ट्याङ्कीमा पानी नचढेपछि लामो समयदेखि सास्ती भोग्नुपरेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो ।

    रु दुई लाखको नयाँ पाइप मुहानदेखि परिवर्तन गरे पनि पानी ट्याङ्कीमा नचढेपछि धेरै कठिनाइ भोग्नुपरेको उहाँले तीतो अनुभव सुनाउनुभयो । “पानी वितरण गर्न थुप्रै प्रयास गरियो तर उपाय लागेन”, अध्यक्ष दरैले भन्नुभयो, “त्यसपछि पाइप बिच्छ्याइएको स्थान हेर्दै जाँदा व्यास–१ मोहरियाटारस्थित रामजी पन्थको घरमुनिबाट पानी चुहावट भएको थाहा पाएपछि मर्मत गरी पानी पुनः वितरण गर्न सफल भएको हो ।”

    मर्मत सम्भारमा नौ लाख

    यस वर्ष परेको अविरल वर्षाले भादगाउँ करादी खिरखादी खानेपानी योजनाको विभिन्न स्थानमा क्षति पुगेकाले मर्मत सम्भारमा करिब रु नौ लाख खर्च भएको समितिले जनाएको छ । अधिकांश स्थानका खानेपानीको जिआई पाइप नै बगाइदिएपछि मर्मत सम्भारमा बढी खर्च भएको हो । समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले भन्नुभयो, “व्यास–१ धुपखोला नजिक रहेको ट्रिटमेन्ट प्लान्टमा रहेको एक फिल्टर पोखरी अझै प्रयोगमा ल्याउन सकिएको छैन ।” उक्त ट्रिटमेन्ट प्लान्टमा रहेका चार वटा फिल्टर पोखरीमध्ये एक पोखरी पहिरोले पुरिएपछि सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।

    माथिबाट आएको पहिरोले उक्त पोखरी पुरेको हुँदा मर्मत सम्भारको लागि रु १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यस वर्षको अविरल वर्षापछि गएको बाढी पहिरोले अधिकांश क्षेत्रमा धनजनको ठूलो क्षति पुर्याएको थियो । तनहुँमा मात्रै बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाएका थिए ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार