काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता लुटपाट र फिरौती माग्ने कार्यमा संलग्न भएको खुले पनि प्रहरीले मुख्य डिजाइनर विक्रम चौधरी उर्फ महेश थारुलाई पक्राउ गरेको छैन । अष्ट्रेलियाका पीआर होल्डर सच्चिन्द्र थापा र उनका बाबु टपेन्द्र थापाबाट पैसा लिई विप्लव माओवादीका चितवन जिल्ला सचिवालय सदस्य महेश थारुले एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टरका संचालक सन्तोष अधिकारी र उनकी श्रीमतीसँग ३ करोड रुपैयाँ मागेको र नदिए ज्यान मार्ने धम्की दिएको बिषयमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको अनुसन्धानका क्रममा खुलेको छ ।
ब्यवसायी सन्तोष अधिकारीलाई धम्की दिने महेश थारुले परिचालन गरेका विन्तोष सिलवाल(सुनार)सहित ४ सहयोगी पक्राउ परेसँगै प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई अष्ट्रेलिया बस्ने सच्चिन्द्र र उनका बाबु टपेन्द्र थापाले सन्तोष अधिकारीसँग फिरौती माग्न लगाएको खुलेको छ ।
सन्तोष अधिकारीसँग ३ करोड रुपैयाँ फिरौती माग्ने, नदिएमा घर नजिकै वा कतै पार्किङमा आक्रमण गर्ने योजनामा महेश थारुले खटाएका विप्लव माओवादीका जिल्लास्तरीय नेताहरु बिन्तोष सिलवाल, गणेश विक, रामदल श्रेष्ठ ‘अटल’ र नन्दुराज आचार्य रहेका थिए । तर उनीहरुको योजना साकार नहुँदै प्रहरीले उनीहरुलाई कात्तिक २४ मा पक्राउ गरिहाल्यो । सन्तोष अधिकारीसँग फिरौती माग्नका लागि सच्चिन्द्र र टपेन्द्रसँग महेश थारुले डेढ करोड रुपैयाँमा डिल गरेको र त्यो रकम ग्लोबल आइएमई बैक, नेपाल बंगलादेश र एनआईसी बैंकबाट निकालेको प्रहरीको अनुसन्धानमा खुलेको स्रोतले बतायो ।
सन्तोष अधिकारीलाई धम्की दिएपछिको मितिमा सच्चिन्द्र र टपेन्द्रको नेपालमा रहेको बैंकखाताबाट डेढ करोड रुपैयाँ निकालेको प्रहरी अनुसन्धानमा खुलेको हो । सच्चिन्द्र र टपेन्द्रले आफ्नो बैंकखाताबाट उक्त रकम निकालेर महेश थारुलाई स्ुपारी दिएको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सन्तोष अधिकारीलाई धम्की दिने क्रम सुरु भएपछि पटक पटक गरी सच्चिन्द्र र टपेन्द्रको ३ वटा बैंकमा रहेको खाताबाट डेढ करोड निकालेको देखिएको छ ।
सन्तोष अधिकारीले नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि पठाएका विद्यार्थीको कमिसन सच्चिन्द्रले लिने गरेका थिए । सन्तोषलाई दिनुपर्ने कमिसन नदिएपछि उनले ताकेता गर्न सुरु गरे । ताकेता गर्न थालेपछि सच्चिन्द्र र टपेन्द्रका बाबुछोराले महेश थारुमार्फत् विप्लव माओवादीलाई प्रयोग गरी सन्तोष अधिकारीलाई ३ करोड रुपैयाँ माग्ने र तनाव दिंदैआएका थिए । फिरौती माग्ने र नदिए सन्तोष अधिकारीको हत्या नै गर्नेगरी सच्चिन्द्रले सुपारी दिएको खुलिसकेको छ । सन्तोष अधिकारीको ज्जान तलमाथि भए सिलवाललगायतलाई भारततिर पठाउने र मुद्दा परेमा खर्चपर्चको ब्यवस्था गर्ने आश्वासन सच्चिन्द्रले दिएका थिए ।
यसैबीच, विक्रम चौधरी(महेश थारु)को मोटरसाइकल अपराध महाशाखाको टोलीले सोह्रखुट्टेबाट बरामद गरेको छ । अपराध महाशाखाले एबीसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी र उनकी श्रीमतीलाई पटक पटक धम्की दिने बिन्तोष सिलवाल, गणेश विक, रामदल श्रेष्ठ ‘अटल’, तीर्थमान तामाङ र नन्दुराज आचार्यलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले अष्ट्रेलिया बस्ने सच्चिन्द्र थापाले आफूहरुलाई सन्तोष अधिकारीसँग ३ करोड माग्न लगाएको बयान दिइसकेका छन् । यी चारजनामध्ये एक जनाबाहेक अरु विप्लव माओवादीनिकट रहेका छन् ।यद्यपि विप्लव माओवादीले पक्राउ परेकाहरु आफ्नो पार्टीमा नभएको बताएको छ । यिनीहरुलाई छुटाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निकट चितवनका नेताहरुले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापालाई दबाब दिइरहेका छन् ।
थापाले पनि सन्तोष अधिकारीलाई धम्की दिएर ३ करोड फिरौती मागेका थिए । अधिकारीले कात्तिक १९ मा उजुरी दिएपछि अपराध महाशाखाले सिलवाल लगायतलाई पक्राउ गरेको थियो । विप्लव माओवादीका नेतालाई छुटाउन प्रचण्ड निकटकै नेताहरु लाग्नुले उनीहरुको साँठगाँठ झल्काएको छ ।
विक्रम चौधरी(महेश थारु)को बरामद मोटरसाइकलको बिलबुक
सच्चिन्द्र र महेश थारुले परिचालन गरेका ४ जनाले ३ करोड नपाए सन्तोष अधिकारीको हत्यासम्म नै गर्ने योजना बनाएको थाहा पाएपछि प्रहरीले निबेदकको सुरक्षाका लागि प्रहरी टोली नै खटाएको थियो । एसएसपी थापाले समयमै साबधानी अपनाएर प्रहरी टोली परिचालन गरेका कारण अधिकारी परिवार सुरक्षित हुन पुगेको छ । स्वास्थ्यकर्मीसमेत रहेकी अधिकारीकी श्रीमतीले काम गर्ने अस्पतालसम्म पुगेर चारै जनाले पालैपालो दैनिक ‘छोरो सानै छ, टुहुरो होला’ भन्दै मार्ने धम्की दिंदै आएका थिए । यसरी हत्या नै गर्ने निायतले थापाले विप्लव माओवादी प्रयोग गरेको कुराले अष्ट्र«ेलियाका नेपाली समाज समेत स्तब्ध भएको छ । र, थापाहरुसँग सतकर्ता अपनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
सच्चिन्द्र र टपेन्द्रमाथि अष्ट्रेलियाको प्रहरीले पनि छानबिन गरिरहेको छ । थापा बाबुछोराले अष्ट्रलियामा पनि अकूत सम्पत्ति आर्जन गरेको बिषयमा छानबिन भएपछि उनीहरुले नेपालमा हुन्डीबाट रकम पठाएका छन् । थापा पितापुत्र हुन्डीका कारोबारी हुन् । उनीहरुले अष्ट्रेलियाबाट हुन्डीको कारोबार गर्दैआएको बिषयमा पनि प्रहरीले अनुसन्धान गरिएको छ ।