काठमाडौं। मृत्युदण्डको सजाय सुनाउने न्यायाधीशको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाउने न्यायाधीशको कोरोनाभाइरसका कारण मृत्यु भएको हाे।
पेशावर हाइकोर्टका मुख्य न्यायाधीश वकार अहमद सेठको ५९ वर्षको उमेरमा बिहीबार मृत्यु भएको पाकिस्तानी अखबार डनले जनाएको छ । न्यायाधशि सेठको इस्लामाबादको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
खैबर पख्तुनख्वा प्रान्तको दीखान जिल्लाका न्यायाधीश सेठको परिवारमा पत्नी र छोरी छन् । २२ अक्टोबरमा उनी कोरोना संक्रमित पाइएका थिए । त्यसपछि उनलाई पेशावरको एक अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई इस्लामाबादको कुलसुम इन्टरनेशनल अस्पतालमा सारिएको थियो । न्यायाधीश सेठले २०१८ को जूनमा पेशावर उच्च न्यायालयका मुख्य न्यायाधीशको रुपमा शपथ लिएका थिए ।
डिसेम्बर २०१९ मा उनले एक विशेष इजलासको अध्यक्षता गर्दै २००७ मा देशमा संकटकाल लागू गरेको विषयमा पूर्व राष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएका थिए । १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका परवेज मुशर्रफ पहिले सेना प्रमुख थिए । उनले १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफलाई अपदस्थ गरेर शासनसत्ता हातमा लिएका थिए । मुशर्रफ २०१६ देखि दुबइमा बस्दै आएका छन् । उपचारको लागि भन्दै पाकिस्तान छाडेर गएका मुशर्रफ त्यसपछि फर्किएका छैनन् ।