Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्षले श्रीमती र सम्पत्ति उडाएपछि न्याय माग्दै पीडित माओवादी कार्यालयमा


    बुधबार, फाल्गुन २३ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले सर्लाहीको बागमती नगरपालिकाका भीमबहादुर मोक्तानको सम्पत्ति मात्र होइन, श्रीमतीलाई नै भड्काएको आरोप लागेको छ । बैदेशिक रोजगारीबाट कमाएको रकमदेखि घरजग्गा समेत कब्जा गर्ने षडयन्त्र गरेको गुनासो मोक्तानले गरेका छन् ।

    बज्रध्वजले आफ्नो श्रीमती पनि लगेको आरोप लगाउँदै मोक्तानले न्यायका लागि बागमती नगरपालिकादेखि हरिहरपुरगढी नगरपालिकाको न्यायिक समितिमा उजुरी दिए पनि सुनुवाइ नभएकाले नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा अनसन नै बस्न बाध्य भएको उल्लेख गर्दै विज्ञप्ति निकालेका छन् ।

    सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवा दुबै माओवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् । तर सर्वहाराको न्यायका लागि जनयुद्ध लडेको माओवादीले न्याय नदिएपछि अनसन बस्नुपरेको मोक्तानको विज्ञप्तिमा उल्लेख छ ।

    मोक्तानको विज्ञप्तिमा उल्लेख छ–म वैदेशिक रोजगारमा रहँदा मेरो श्रीमती संगीता बलले अर्कै केटासँग लागेर ‘मलाई रक्सी खाएर कुटेको, लालनपालन नगरे’ को भनेर झुट्टा आरोप लगाएर अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दिएको हालै सुनेको छु ।

    २०७८ साल असोज ५ गते म साउदी अरबबाट ३० महिनापछि नेपाल आएँ । उनले झुट्टा आरोप लगाएर सम्बन्ध विच्छेदको मुद्दा म आउनु अगाडि भदौ १३ गते दिएको सुनेको छु । म विदेशमै हुँदै कसरी रक्सी खाएर कुट्न सक्छु ? लालनपालन नगरेको भन्ने विषय छ, मैले त्यस्तो कोभिडको बेलामा रोजगारीको अनिश्चिताको बेलामा मैले खाईनखाई ५५ डिग्रीको भन्दा बढी तापक्रममा काम गरेर श्रीमती र छोरीका लागि आईएमईमार्फत् ४ लाखभन्दा बढी रकम श्रीमतीको नाममा पठाएका कागजात मसँग सुरक्षित छ । उता जाँदा साहूबाट लिएको दुई लाखभन्दा बढी रकम पनि मैले आईएमआईमार्फत् पठाएको छु । यसको पनि कागजात सुरक्षित छ । साथीभाइहरु आउँदा जाँदा पठाइएका पैसा र अन्य सामग्रीका हिसावकिताव त अलग्गै छन् ।

    यो कुरा मैले दुई वर्षदेखि निरन्तर राख्दै आएको छु । मैले न्याय पाउनुको साटो मलाई बज्रध्वज वाइवा भन्ने व्यक्ति (हाल माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिकाको अध्यक्ष) ले मलाई मेरै घर आँगनमा आएर निर्घात कुटपिट गरे । मलाई र मेरो छोरीलाई कुनै पनि बेलामा मारिदिने धम्की दिए । पछि बज्रध्वज वाइवाले नै मेरी श्रीमती लगेको पुष्टि हुने मसँग अडियो प्रमाणहरु छन्, कतिपय सार्वजनिक भइसकेका पनि छन् ।

    म बसेको घरजग्गाबाट मलाई निकाल्नका लागि फर्जी कागज बनाइयो । मलाई त्यहाँबाट निकाल्नका लागि गरिएका षडयन्त्रका तानाबाना पनि अडियो रेकर्ड सुन्न सकिन्छ ।

    यी सबै प्रमाणका आधारमा २०७८ साल चैत्रमा मैले सर्लाही जिल्ला वागमती नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएँ । त्यसको आजसम्म सुनुवाइ भएन । उनका सबै हर्कत थाहा हँुदाहुँदै उल्टो माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्षको टिकट दिएर पुरस्कृत ग¥यो । हामी जस्ता गरीवको भलाइ गर्ने भन्ने माओवादी पार्टीले बज्रध्वज वाइवा जस्तो आपराधिक चरित्र भएका व्यक्तिलाई गाउँपालिकाको सत्ताको मालिक बनाएपछि मैले न्याय खोज्न कहाँ जाने ?
    तैपनि मैले न्यायको आशामा माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयमा निवेदन दिएको पनि एक महिनाभन्दा बढी भयो । त्यसको कुनै सुनुवाइ भएन । बरु उल्टो बज्रध्वजका निकटहरुबाट मलाई अनावश्यक धम्की दिएर तर्साउने काम भइरहेको छ ।

    हालैमात्र मैले बज्रध्वज वाइवा अध्यक्ष रहेकै हरिहरपुरगढी गाउँपालिकाको न्यायिक समितिमा समेत न्यायका लागि निवेदन पेश गरेको छु । यसको बोधार्थ सिन्धुली जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुलीमा बोधार्थ पठाएको छु । यसबाट न्याय पाउने विश्वास लिएको छु ।

    त्यहाँ दिएका सबै निवदेनका प्रतिलिपीहरु यसै अपीलमार्फत् यहाँहरुमार्फत् सार्वजनिक गरेको छु । मजस्ता वैदेशिक रोजगारीमा गएकाहरुको यस्तो विचल्ली धेरैको भएको छ । मैले पाउने न्यायले बाध्यताले विदेश गएका हामीजस्ता श्रमिकलाई न्याय मिल्ने आशा गरेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार