१ लाख उपचार खर्च सहयोग गर्दै सांसद आले
काठमाडौं । डोटीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रेम आलेले शिक्षण अस्पताल महाराजगंजमा उपचाररत ब्रेन ट्युमरका बिरामीलाई १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बडिकेदार गाउँपालिका–१, रिसाडी, डोटी निवासी २३ बर्षीया निर्मला मन्नेसँग उपचार खर्च अभाव भएको थाहा पाउनासाथ उहाँ शिक्षण अस्पतालमा गई उनलाई उक्त रकम प्रदान गर्नुभएको थियो ।
बिगत केही बर्षदेखि लगातार ३ पल्ट ब्रेनट्युमर भई उपचाररत निर्मला, कल्पना मन्ने र बुवा लक्ष्मण मन्नेकी जेठी छोरी हुनुहून्छ । दुर्भाग्य उहाँका भाइ १८ बर्षीय डबल मन्ने पनि ब्रेन ट्युमरकै कारण उक्त अस्पतालमै भर्ना हुनुभएको छ । । उहाँका बुवा लक्ष्मणको गएको असोज १४ गते मिर्गाैलाको क्यान्सरका कारण निधन भएको थियो ।

पटक–पटक समस्या बल्झिरहेका कारण लामो समयदेखि उपचारमा लगिरहनुभएका निर्मलाका परिवारले धनगढीमा रहेको घरघडेरी पनि बेचबिखन गरिसक्नुभएको छ । हाल आफ्ना भाइ र आफन्त सहित उपचारको पर्खाइमा रहनुभएकी उहाँहरुकी आमा बेड उपलब्ध नभएका कारण छोरालाई अस्पताल नजिकैको होटेलको कोठामा र छोरीलाई अस्पतालमा भर्ना गरी उपचारका निम्ति सहयोगको याचना गरिरहनुभएको छ ।
दुःख गरेर सन्तान हुर्काएको स्मरण गर्दै निर्मलाकी आमा कल्पना कहीँबाट केही सहयोग पाउने आशामा अस्पतालमा छोरी निर्मला र छोराको स्याहारमा रातदिन जुटिरहनुभएको छ । छोरी निर्मला स्नातक् तह अध्ययनरत र छोरा स्नातकको तयारी रहनुभएको थियो ।
गम्भीर प्रकृतिका रोग लागेका गरीब तथा असहाय बिरामी तथा परिवारलाई निरन्तर सहयोग गर्दैआउनुभएका सांसद प्रेम आले खबर थाहा पाउनासाथ अस्पताल जानुभएको थियो । अघिल्लो बर्ष पनि मन्ने परिवारको उपचारका लागि सांसद आलेले ७५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । शुक्रबार अस्पतालमा पुगेर निर्मलाकी आमा कल्पना मन्नेलाई रकम प्रदान गर्दा भावुक बन्नुभएको थियो । । उहाँले कल्पनालाई भन्नुभयो–सक्ने सहयोग म गर्छु, नआत्तिनुहोला, उपचार राम्रोसँग गर्नु्स् ।
परिवारै ब्रेनट्युरको शिकार भएको र आर्थिक अभावका कारण उपचार गराउन नसकेकाले आवश्यक सहयोगका लागि निर्मलाकी आमा कल्पना मन्नेले अपिल गर्नुभएको छ । सहयोग गर्न चाहनेने कल्पना मन्नेको मोवाइल नम्बर ९८६५६४५७८५ र शिक्षण अस्पताल महाराजगंजको बेड न ५२० ANNEX 1 मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।