काठमाडौं । विप्लव माओवादी पार्टीको नाममा अष्ट्रेलियाबाट ३ करोड रुपैयाँ फिरौती माग्दै ब्यवसायी सन्तोष अधिकारीलाई धम्की दिने सच्चिन्द्र थापाका ४ सहयोगी पक्राउ परेसँगै उनलाई पनि इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गरी नेपाल झिकाएर कारबाही गर्ने प्रक्रिया सुरु गर्नेबारेमा महानगरीय अपराध महाशाखाले छलफल गरिरहेको छ ।
महाशाखाले एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी र उनकी श्रीमतीलाई पटक पटक धम्की दिने बिन्तोष सिलवाल, गणेश विक, रामदल श्रेष्ठ ‘अटल’, तीर्थमान तामाङ र नन्दुराज आचार्यलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले अष्ट्रेलिया बस्ने सच्चिन्द्र थापाले आफूहरुलाई सन्तोष अधिकारीसँग ३ करोड माग्न लगाएको बयान दिइसकेका छन् । यी चारजनामध्ये एक जनाबाहेक अरु विप्लव माओवादीनिकट रहेका छन् । यिनीहरुलाई विप्लव माओवादीका नेता महेश थारुले सन्तोष अधिकारीसँग ३ करोड रुपैयाँ फिरौती माग्न परिचालन गरेको खुलासा भएको छ ।
अष्ट्रेलियाबाट सच्चिन्द्र थापा र उनका बाबु टपेन्द्रले महेश थारुलाई प्रयोग गरेको र थारुले विन्तोष सिलवाललगायत ४ जनालाई सन्तोष अधिकारीसहित उनका परिवारसँग ३ करोड रुपैयाँ नदिए जे पनि गर्ने धम्की दिएको खुलेको छ । सच्चिन्द्र र महेश थारुले परिचालन गरेका ४ जनाले ३ करोड नपाए सन्तोष अधिकारीको हत्यासम्म नै गर्ने योजना बनाएको थाहा पाएपछि प्रहरीले निबेदकको सुरक्षाका लागि प्रहरी टोली नै खटाएको थियो । एसएसपी थापाले समयमै साबधानी अपनाएर प्रहरी टोली परिचालन गरेका कारण अधिकारी परिवार सुरक्षित हुन पुगेको छ । स्वास्थ्यकर्मीसमेत रहेकी अधिकारीकी श्रीमतीले काम गर्ने अस्पतालसम्म पुगेर चारै जनाले पालैपालो दैनिक ‘छोरो सानै छ, टुहुरो होला’ भन्दै मार्ने धम्की दिंदै आएका थिए ।
महेश थारु पनि छानबिनको दायरामा आउनुपर्ने हो । तर उनलाई अहिलेसम्म महाशाखाले छानबिनको दायरामा ल्याएको छैन । थारु चितवनका हुन् । उनी विप्लव माओवादीका चितवनका सचिवालय सदस्य रहेको खुलेको छ । थारुलाई सच्चिन्द्रका बाबु टपेन्द्रले सन्तोष अधिकारीसँग रकम असुलीका लागि परिचालन गरेका थिए । थारुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन भने सच्चिन्द्रलाई नेपालमा झिकाउन इन्टरपोलमार्फत् कारबाही अगाडि नबढाउन पनि अपराध महाशाखाका एसएसपी दीपक थापामाथि चर्को दबाब परिरहेको छ ।

एसएसपी दीपक थापा
नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का चितवनका नेताहरु सच्चिन्द्रलाई नेपाल झिकाउन इन्टरपोलमार्फत् सूचना ननिकाल्न एसएसपी थापामाथि दबाब दिइरहेका छन् । यता पीडित सन्तोष अधिकारीको तर्फबाट पनि एसएसपी थापामाथि सच्चिन्द्र थापा रउनका पितामाथि नेपालमा झिकाएर कारबाही गर्न चर्को दबाब छ । एसएसपी थापा दोहोरो चेपुवामा परेका छन् ।
सच्चिन्द्रले किन धम्क्याए सन्तोषलाई ?
सन्तोष अधिकारी र सच्चिन्द्र थापा कुनै बेला साझेदारीमा काम गर्थे । एबीसी एजुकेशन एन्ड माइग्रेसन सेन्टरबाट अधिकारी विद्यार्थी अष्ट्रेलिया पठाउँथे । थापा नेपाली एजेन्ट बनेर अष्ट्रेलियाका विश्वविद्यालयहरुसँग रकम लिन्थे । त्यही रकमको हिसावकिताब खोज्दा अधिकारीमाथि उनी जाइलागेका हुन् ।
अधिकारीले आफूले काम गरे वापत अष्ट्रेलियन विश्वविद्यालयहरुसँग लिनुपर्ने रकम थापाले नदिएपछि ताकेता बढाए । तर थापाले उक्त रकम दिन आनाकानी गरिरहे । थापाले कमिसन वापतको त्यो रकम दिनुको साटो गुण्डा परिचालन गरी धम्की दिने र ३ करोड उल्टै माग्न लगाए । यो कुरा बिन्तोष सिलवाल लगायत ४ जना पक्राउपछि खुल्यो । विप्लव समूहको नाममा धम्की दिन सहज हुने देखेर सच्चिन्द्रका बाबुछोराले यस्तो कुमार्ग अबलम्बन गर्दा अहिले फन्दामा पर्ने भएका छन् । त्यसो त अष्ट्रेलियाका पीआर होल्डर सच्चिन्द्र मोजमस्तीमा रमाउने खालका ब्यक्ति भएको खुलेको छ । मोजमस्तीमा रमाउने थापाले कमिसनबापत पाएको रकम नदिई पचाउन गलत मार्ग अवलम्बन गर्दा ४ जना फन्दामा पर्ने भएका छन् । उनीमाथि पनि इन्टरपोलबाट सूचना जारी गर्न प्रहरीमाथि दबाब छ ।
महाशाखाले पक्राउ गरेका चार जनामध्ये एक जना कानुन ब्यवसायी हुन् । अरु तीनै जना प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग निकट छन् । बिन्तोष सिलवाल नुवाकोट पार्टी सेक्रेटरी, रामदल श्रेष्ठ (अटल) रामेछाप जिल्ला सेक्रेटरी र तिर्थमान तामाङ काभ्रे जिल्ला इन्चार्ज हुन् भने नन्दुराज आचार्य वकिल हुन् ।
विन्तोष कहिले नुवाकोट डोजर जलाउने त कहिले धनकुटामा आगजनी गर्ने क्रियाकलापमा संलग्न रहेको पनि खुलेको छ । यद्यपि तीनै जनाले आफूहरु अहिले विप्लव समूहमा नरहेको बयान दिएका छन् ।
सचिन्द्रका बाबु टपेन्द्र र बिप्लब समूहका उच्चतहका नेतासँग पटक–पटक कुराकानी भएको पनि प्रहरी अनुसन्धानमा खुलिसकेको स्रोतले बताएको छ । हुण्डी कारोबारी भनेर चिनिएका टपेन्द्र पटक–पटक विवादमा तानिएका व्यक्ति हुन् ।