Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘मेलम्चीको पानी काठमाडौं झार्ने सपना कार्यान्वयन नजिक’


    बिहिबार, कार्तिक २७ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने चार दशक लामो सपना कार्यान्वयनको नजिक आइपुगेको प्रधानमन्त्री केपी शर्माओलीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सो क्षेत्रका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई.गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख रितेश खत्रीसहितको टोलीले बुधबार यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको थियो ।

    राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको पाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

    सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजल ल्याएर काठमाडौँ उपत्यकावासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै समस्या नभए विसं २०७७ भित्रै पूरा हुने विश्वास छ ।

    उपत्यकामा छिट्टै उपभोक्ताका आआफ्ना धारामा मेलम्चीको पानी उपलब्ध हुने देखिएको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

    सत्ताईस किमी लामो सुरूङबाट छिट्टै दैनिक १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेकाले आउँदो मङ्सिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ ।

    याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले ‘हेड वक्र्स’ को निर्माण तीव्र रूपमा चलिरहेको छ । सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ ।

    जम्मा रु २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले उपत्यकामा पानीको सङ्कट र तीर्खा मेटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।

    मेलम्ची खानेपानी आयोजना शुरु भएको लामो समयपछि पूरा हुन लागेको छ । प्रधानमन्त्री ओलीको नेतृत्वका कारण नै यो सम्भव भएको थापाले उल्लेख गरेका छन् ।

    आयोजनामा यसअघि काम गरेको इटालियन कम्पनीले श्रम र सामान आपूर्ति गर्नेलाई भुक्तानी गर्न बाँकी छ । यो समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको बताइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार