काठमाडौं । जुवा खालबाट पक्राउ परेका पूर्व राज्यमन्त्री खोभारी राययादव धराैटीमा छुटेका छन्। यादव ३ हजार धरौटी तिरेर रिहा भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खोभारीलाई ३ हजार धरौटीमा छाड्ने निर्णय गरेका हुन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुले उनीसहित १० जना जुवाडेलाई पक्रेको थियो ।
स्वयम्भुस्थित साईली तामाङको घरमा जुवा खेलिरहेको सो समूहबाट महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले १ लाख ५३ हजार ५ सय नगद समेत बरामद गरेको थियो । खोभारीसँगै काभ्रेका कान्छा तामाङ, देवेन्द्र श्रेष्ठ र विक्रम लामा पनि पक्राउ परेका थिए ।
पूर्वमन्त्रीसहित १० जना जुवाडे जनही ३ हजार धरौटी बुझाएर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले बताए । सर्लाही कविलासी नगरपालिका–३ घर भएका खोभारी स्वयम्भु क्षेत्रमा बस्छन् । राजनीतिक दल फेरेर तीनपटक मन्त्री बनेका यादव १५ कार्तिकमा जुवाखालबाट पक्राउ परेका थिए ।