Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारसँग राष्ट्रपतिको आग्रह


    मंगलबार, कार्तिक २५ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे आज राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिनुभयो । 
    आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको  प्रशंसा गर्दै उहाँले अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्न  आग्रह गर्नुभयो । 

    बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाहसुझाव लिई अघि बढ्न उहाँले सरकारलाई सल्लाह दिँदै पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई सुझाव दिनुभयो । गरीबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गर्दै उहाँले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिनुभयो । 

    राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताउँदै न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरीबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिई काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिनुभयो ।

    शय्या पर्याप्त छः स्वास्थ्यमन्त्री

    सो अवसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडको खोप प्रयोगमा आए नेपाली नागरिक त्यसबाट वञ्चित हुन नपर्ने गरी सरकारले कामकारवाही अघि बढाएको जानकारी दिनुभयो । अस्पतालमा शय्या पर्याप्त भएको जनाउँदै मन्त्री ढकालले कोभिडबाट संक्रमितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।  

       काठमाडौँ उपत्यकाका विभिन्न सरकारी अस्पतालका निर्देशक तथा पदाधिकारीले कोभिड महामारीका समयमा आआफ्नो अस्पतालले गरेका काम तथा आगामी योजनाबारे राष्ट्रपतिसमक्ष अवगत गराउनुभएको थियो ।        

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार