काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित तीन आयुक्तका पद रिक्त छन् । एक आयुक्त खाली भएको ३ बर्ष भइसकेको छ । अर्का आयुक्तको पदरिक्त भएको २ बर्ष पूरा भइसकेको छ । प्रमुख आयुक्त नवीनकुमार घिमिरे २०७७ भदौ २८ मा कार्यकाल पूरा गरी बिदा भएका हुन् ।
अख्तियारको प्रमुख आयुक्तसहित ३ आयुक्त रिक्त भए पनि संवैधानिक परिषदले सिफारिस गर्नसकेको छैन । प्रमुख आयुक्तबाट दीप बस्नेत २०७४ माघ २९ गते बिदा भएका हुन् भने आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो प्रकरण बाहिरिएपछि २०७५ फागुनमा राजीनामा दिएका थिए । प्रमुख आयुक्तसहित ३ आयुक्त रिक्त भए पनि नियुक्ति गर्न सकेको छैन ।
घिमिरेको कार्यकाल पूरा भएपछि डा. गणेशराज जोशीले कार्यवाहक प्रमुख आयुक्तका रुपमा काम गर्दैआएका छन् । डा. जोशीको ६ बर्षे कार्यकाल पूरा हुन साढे ४ महिनामात्र बाँकी छ । उनी २०७७ चैत १७ मा ६ बर्षे अवधि पूरा गरी जाँदैछन् । बरिष्ठताका आधारमा उनलाई नै प्रमुख आयुक्तको जिम्मा दिनुपर्ने हुन्छ । यसअघि लोकमानसिंह कार्की पदमुक्त भएपछि दीप बस्नेत बरिष्ठताकै आधारमा प्रमुख आयुक्त भएका थिए । नवीन घिमिरे पनि बरिष्ठताकै मापदण्डमा परी प्रमुख आयुक्त भएका थिए ।
अख्तियारको प्रमुख आयुक्त बनाउनेगरी पूर्व गृहसचिव प्रेमकुमार राईलाई आयुक्त बनाउने योजनामा प्रधानमन्त्री केपी शर्मा ओली रहेको जानकारहरुले बताउँदैआएका छन् । यद्यपि ललिता निवास जग्गा प्रकरण उधिनेबापत उनलाई अख्तियारमा जान नदिने नेकपाभित्र बलियो तप्काको दबाब प्रधानमन्त्रीमाथि परिरहेको बताइन्छ ।
अख्तियारको आयुक्तका लागि लाग्नेहरुमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश किशोर सिलवाल, २०७७ असोज २२ मा अवकाश पाएका पूर्वसचिव मोहनकृष्ण सापकोटा, राष्ट्रबैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक शिवनाथ पाण्डे, पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल, पूर्वएआइजी जयबहादुर चन्द, सुरेन्द्रबहादुर शाह, अख्तियारका पूर्व सहसचिव गणेश कार्की, पूर्वसचिव श्रीधर सापकोटा, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलीप रेग्मी, पूर्व सचिव मधु रेग्मीसहित ३० जनाभन्दा बढीले विभिन्न शक्तिकेन्द्रमार्फत् अख्तियारमा नियुक्तिका लागि लबिङ गरिरहेका छन् ।
उच्च अदालत पोखराका मुख्यन्यायाधीश सिलवालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामार्फत् नियुक्तिका लागि पहल गरिरहेका छन् । अवकाशप्राप्त सचिवभन्दा मुख्यन्यायाधीश पोर्टफोलियोमा माथि हुने भएकाले उनले प्रमुख आयुक्त नै दाबी गरेका छन् । उनलाई कनिष्ट भए पनि अख्तियारमा नियुक्तिकै लागि मुख्य न्यायाधीश बनाइएको चर्चा न्यायक्षेत्रमा हुँदैआएको छ । सिलवाल अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका मामाका छोरा हुन् । उनलाई अख्तियारमा आयुक्त बनाउन लोकमानसिंह कार्कीले पनि पहल गरिरहेको स्रोत बताउँछ । सिलवालले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत विश्वासमा लिइसकेको चर्चा छ ।
कांग्रेसमा लिलाम बढाबढ
नेपाली कांग्रेसले अख्तियारको एउटा आयुक्तको कोटा पाउने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पाएको छ । तर त्यो एउटा कोटामा पर्नका लागि आकांक्षीहरुको लर्को नै लागेको छ । पूर्वएआइजी जयबहादुर चन्दलाई आयुक्त बनाउन कांग्रेस सभापति शेरबहादुर देउवामाथि चर्को दबाब छ । सुदूरपश्चिम प्रदेशका कांग्रेस नेताहरुले चन्दलाई आइजीपी बनाउन नसकेकाले पनि न्याय दिनुपर्ने भन्दैआएका छन् ।
कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम अगाडि सारेका छन् । पूर्व सचिव मोहनकृष्ण सापकोटा पनि कांग्रेसकै कोटामा आयुक्त हुने दाउमा छन् । तर सबैलाई माथ गर्दै पछिल्लो पटक राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे पनि लागेका छन् । कांग्रेसको कोटाबाट आयुक्त हुने आकांक्षीहरुबीच लिलाम बढाबढ भइरहेको छ । त्यो लिलामीमा शिवनाथ पाण्डे अगाडि देखिएका छन् । पाण्डेले अख्तियारको आयुक्त हुनका लागि आश्वासन पाएको भन्दै सूर्या लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल सकिन केही महिना बाँकी रहँदै पदबाट राजीनामा दिनुको कारण अख्तियारमा आयुक्त नियुक्तिको आश्वासन पाएकैले हो भन्दैआएका छन् । उनले मंसिर १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
विशाल ग्रुपको लगानीमा पाण्डेलाई अख्तियारको आयुक्त बनाउन लागिएको हो । पाण्डेलाई अख्तियारको आयुक्त बनाउन विशाल ग्रुपका अशोक अग्रवालले सभापति देउवालाई आकर्षक अफर गरेपछि मोहनकृष्ण सापकोटादेखि दिलीप रेग्मी र जयबहादुर चन्दहरु पछाडि परेका छन् । विशाल गु्रुपले यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडादेखि नेकपाका नेताहरुलाई नै प्रभावमा पारी बजेटका गोप्य सूचना हात पारी विद्युतीय गाडी झिकाएर करोडौं करोडको लाभ लिएको आरोप छ । विशाल ग्रुपले चकलेट लगायतका तयारी खाद्यान्नको म्याद सकिएपछि रिलेबलिङ गरी बजारमा बिक्रीका लागि पठाएको फेलापरेपछि प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । विशाल ग्रुपकै कर्मचारी र उनीहरुका परिवारका नाममा कम्पनी खोलेर एकातिर रिलेबलिङ गरी जनस्वास्थ्यमा गम्भीर असर पार्ने चकलेट लगायतका तयारी खानेकुरा बिक्री गर्दैआएको छ भने अर्कोतिर ब्यापारमा तह खडा गरेर उपभोक्तामा मूल्यको थोपर्ने र भ्याटछली पनि गर्ने गरेको छ ।
यस्तै गैरकानुनी काम गर्ने विशाल ग्रुपले राज्यका विभिन्न निकायमा आफ्नो पकड कायम गर्दैलगेको छ । अख्तियारमा पनि विशाल ग्रुपले पाण्डेलाई नियुक्त गराउन करोडौंको अफर गरेपछि कांग्रेस सभापति देउवाले सहमति जनाइसकेकाले सूर्या लाइफबाट शिवनाथले राजीनामा दिएका हुन् ।