बाँके । गोरु तस्करहरुले बाँकेमा प्रहरी सेटिङ मिलाएर काम सुरु गरेका छन् । लकडाउनका कारण बन्द भएको गोरु तस्करी हालै प्रहरीमा सेटिङ मिलाएपछि सुरु भएको हो ।
बाँकेको खजुरा गाउँपालिकाबाट यस्तो तस्करी सुरु भएको छ । तस्करीमा चितवनका राकेश श्रेष्ठ, कोहलपुरका धु्रव पौडेल, ओसी खान लगायत सक्रिय छन् । उनीहरुले प्रहरी लगायत सबैतिर सेटिङ मिलाएपछि गोरु संकलन सुरु गरिएको छ । त्यसका लागि खजुराका नारिक मियाँ, नेपाल खान, फिरोज खान लगायतलाई परिचालन गरेका छन् ।
प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालय समेतको मिलेमतोमा गोरु तस्करीको तयारी भइसकेको छ । प्रदेश कार्यालयलाई मिलाएर पछि उनी बाँके प्रहरीमा सेटिङ मिलाएका हुन् । बाँकेका एसपी ओमबहादुर राना कमाउनकै लागि शक्तिकेन्द्रबाट पावर लगाएर आएकाले उनले सेटिङबाट कमाउमा ध्यान केन्द्रित गरेका छन् । भन्सारकै मिलेमतोमा हुने तस्करीमा आफुलाई बेवास्ता गरेको भन्दै केही साताअघि उनी केही ट्रक समातेका थिए । त्यसपछि तस्करसँग उनको कुरा मिलिसकेको छ ।
जुवाखालको पैसा लुकाएको तथा घुमुवा भीमबहादुर डाँगीलाई पठाएर कोहलपुरका एक स्थानीयको घरमा पैसा उठाउन पठाएको विषयमा उनीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । रानाविरुद्ध अत्यधिक उजुरी आएपछि उनको अवधि नपुगी सरुवा हुने सम्भावना रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । लुम्बिनी प्रदेशका डीआइजी रविन्द्रबहादुर धानुकले बाँके प्रहरीका एसपी रानाको मिलेमतोमा जुवा खेलिरहेको ठाउँबाट ४० लाख गायब पारिएको बिषयमा छानबिन गरिरहेको प्रतिक्रिया दिएका छन् ।
आइजीपी शैलेश थापा क्षेत्रीले सामान्य गल्ती गर्ने प्रहरी अधिकृतलाई कारबाहीस्वरुप इन्चार्जबाट हटाउने गरेका छन् । तर बाँकेका एसपी रानाले जुवाखालबाट ४० लाख रुपैयाँ गायब पारेको बिषयमा कुरा आउँदा सोधपुछसम्म गरेका छैनन् ।