काठमाडौं । ३० बर्षे पंचायती सत्ताका बिरुद्ध संघर्ष गर्ने योद्धा वीरबहादुर लामाको निधन भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेका लामा उपचाररत थिए । नेपाली कम्युनिष्ट आन्दोलनले गर्व गर्ने नख्खु जेलब्रेकका योद्धा लामाले समयमा उपचार नपाएर, पर्याप्त उपचार खर्च नभएर अस्पतालमा छ्ट्पटाई–छ्ट्पटाई प्राण त्याग्नुपरेको छ । आज बिहान ७० बर्षको उमेरमा लामाको निधन भएको छ ।
पंचायतका बिरुद्ध लामो समय जेलनेल भोगेका लामालाई नेपाल कम्युनिष्ट पार्टीले उपचारको प्रबन्धसमेत गरेन । देशका लागि कुनै योगदान नभएकाहरुलाई राज्यले उपचार गर्न खर्च दिएको छ । तर लामा जस्ता पंचायती शासनका बिरुद्ध लडेका योद्दाको उपचार विना नै मृत्यु भएको छ । नेकपा दुईतिहाई बहुमतसहित सत्तामा हुँदा पनि त्यो पार्टी बनाउनका लागि जेलनेल भोगेका लामाले उपचारविना मर्नुपरेको छ । लामाले नख्खु जेलब्रेकपछि तत्कालीन मालेका नेताहरुलाई आफ्नो घर मकवानपुरको फाखेलको जंगलमा दिनभर लुकाई आफ्नै घरमा खाना खुवाएर पालेका थिए ।
प्रेस संगठन नेपाल बागमती प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले लामाको मृत्युबारे मार्मिक टिप्पणी गरेका छन्–संवेदनाहीन, सत्तासुखका आशक्तले देश चलाएको बेला आन्दोलनको विरासतका एउटा नाइके वीरबहादुरका निम्ति कोही भइदिएनन् । मकवानपुरका कमरेडहरुले बाराम्बार बालुवाटारको ढोका ढक्ढकाए । तर, सुन्ने कोही भएनन् । यस्तो निर्दयी सरकार, यस्ता निकृष्ट पात्रको हालीमुहाली चलेको बेला भोलि हाम्रो पनि यस्तै दिन आउने न हो ।