Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सडकका आकर्षक आयोजनामा करोडौंपति डीई र इन्जीनीयरकै रजगज


    शनिबार, कार्तिक २२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । ८ महिनायता देखिएको कोरोना महामारीका कारण सडक विभागका सदाबहार हाकिमहरुको आम्दानीको स्रोतमा संकुचन देखिएको छ । सडक विभाग अन्तर्गतका आयोजना र डिभिजनका सु.ई. र डी.इ.हरुको आयआर्जन तथा रंगीन जीवनशैलीमा पनि ब्रेक लागेको छ । कुनै बेला सडक विभागको महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की(हाल सरुवा)ले लमजुङको काउलेपानी रिसोर्टमा बिताएका रमाइला क्षणहरुको चर्चा अहिले पनि चल्ने गरेको छ । सचिव कार्कीलाई उक्त चाँजोपाँजो मिलाउने डि.इ. भानु जोशी हाल अख्तियारको निलम्बनमा परेका छन् ।

     सडकमा पछिल्ला दिनमा सुई र कामु सुई भई अकूत सम्पत्ति आर्जन गर्नेहरुमा राष्ट्रिय गौरवको आयोजना भनिएका मध्यपहाडी लोकमार्ग आयोजनाका दीपक केसी, मदन भण्डारी राजमार्ग आयोजनाका उमेशबिन्दु श्रेष्ठ र हुलाकी राजमार्ग आयोजनाका रोहित बिसुराल रहेका छन् । वार्षिक ८ अर्ब जतिको बजेट चलखेल गर्न पाइने भएका कारण हुलाकी राजमार्गमा शक्तिकेन्द्रको दबाबमा का.मु. आयोजना प्रमुखबाट अशोक तिवारीलाई हटाएर बिसुराल उक्त आयोजनाको प्रमुख भएका थिए ।

    मध्यपहाडी र मदन भण्डारीमा पनि वार्षिक ६ देखि ८ अर्बको बजेट सरकारले छुट्याइएको छ । यता डिभिजन प्रमुखहरुमा पनि राम्रो र आकर्षक डिभिजनमा सधैं राज गरी कुस्त लाभ लिनेहरुमा मेघराज मरासिनी दुई पटक बुटबल सिक्सलेन सडक वीरगञ्जको रस चुसेर अहिले करिब २ अर्ब बजेट भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतमा गएका छन् ।

    सालझण्डी–सन्धिखर्कबाट डिई भएको छोटो समयमै जयलाल मरासिनीले बुटबलजस्तो आकर्षक डिभिजन हात पारेका छन् । बेलबहादुर भुजेल पनि सधैँ राम्रो ठाउँमा रमाउँदै गत वर्ष मदन भण्डारी आयोजनामा सरुवा भएका छन् ।

    त्यसैगरी, गुरु अधिकारी कालिगण्डकी करिडोरबाट भक्तपुर–सुर्खेत हुँदै घरपाइको सडक विस्तारमा रमाइरहेको चर्चा चलेको छ । अर्जुन बम, श्याम यादव र अशोक तिवारी पनि सधैँ राम्रो र आकर्षक ठाउँमा बसेर लाभ लिनेभित्रै पर्दछन् ।  हाल रेल विभागमा रहेका देवेन्द्र शाह पनि भाग्यमानी भित्रै पर्दछन् । अशोक तिवारी हाल चीनको सीमा मुस्ताङको कोरोला सडकको हाकिम छन् । उनी हुलाकी सडक आयोजनाबाट सरुवा भएपछि संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग कनेक्सन मिलाएर कोरोला सडकमा सरुवा भएका हुन् । हृदयेश त्रिपाठी भौतिक पूर्वाधार मन्त्री हुँदा तिवारी उनका भित्रिया थिए । त्यही भएकाले त्रिपाठीमार्फत् नै उनले हुलाकीबाट सरुवा भएलगत्तै कोरोला सडकको हाकिम हुने मौका पाएका छन् ।

    अशोक तिवारी, सूर्य भाट, मेघराज मरासिनी, दीपक केसीहरु सडकका अकूत सम्पत्ति कमाउने र अख्तियारमा समेत छानबिनमा परेका डीईहरु हुन् । भाट मध्यपहाडी लोकमार्ग पूर्व र पश्चिम आयोजनामा ४ बर्ष कार्यरत रही अकूत सम्पत्ति कमाउनेभित्र पर्दछन् । 

    सुईहरुमा धरान–चतरा–हेटौंडा सडक आयोजनामा सरोज प्रधान(हाल अवकाश) र गोपालप्रसाद सिग्देल पनि अकूत कमाउनेभित्र पर्दछन् । धरान–चतरा–हेटौंडाको २३ अर्ब, गल्छी–स्याफ्रुबेसी ५ अर्ब, भैरहवा बेलहिया ५ अर्ब, मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको १२ अर्ब, हुलाकी सडक आयोजनाको १२ अर्बका ठेक्का प्याकेज बनाएर प्रतिस्पर्धालाई सीमित गरी सेटिङमा ७ वटा ठेकेदारलाई मात्र दिने डिजाइनर देवेन्द्र कार्की, गोपाल सिग्देल र सरोज प्रधानहरु हु्न् ।

     सडकमा सधैं आकर्षक आयोजना र डिभिजनमा सरुवा हँुदैआएका सीडीई जीतेन्द्र चौधरीबिरुद्ध अख्तियारले ३ करोड ९९ लाख ४४ हजार तीन सय ४२ रुपैयाँ भ्रष्टाचार गरी गैरकानुनी आर्जन गरेको आरोपमा २०७६ फागुन ५ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार