धनगढी । कैलालीको धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेका छन् ।
कतिपय जिल्लामा घरधनीले सडक बिस्तारका क्रममा मुआव्जा माग्दै मद्दामामिला गर्दा सडक निर्माण तथा बिस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू भत्काउन धरधनी आफै लागिपरेका हुन् ।
एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकामा सन २०२० को जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भई काम अघि बढेको हो ।
कैलालीमा धनगढी र गोदावरी तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले सडक निर्माण तथा विस्तारको काम अघि बढाएको छ ।
खासगरी उपमहानगरपलिकाको उत्कृष्ट सहजीकरण र समन्वयका कारण धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन स्वयमं घरधनी स्वतः स्फूर्त लाग्दा सडक निर्माण तथा विस्तारको काममा तिव्रता आएको क्षेत्रिय शहरी विकास आयोजनाका निर्देशक रबिन्द्र बोहराले बताउनुभयो ।
निर्देशक बोहराले भन्नुभयो- पूर्वाधार बिकासको मुख्य शर्त सडक निर्माण र बिस्तार हो, ‘राइट अफ वे’को सवालमा धनगढी उपमहागरपालिका निकै अगाडि देखियो, स्थानीयको चेतनाको स्तर, जागरुकता, सहयोग र समन्वयले हामी निकै उत्साहित भएका छौ, अव थप सहयोग बढाउने बिषयमा पनि आयोजनाले पहल गर्नेछ ।
४ वटा नगरपालिकामध्ये ‘राइट अफ वे’ को बिषय जुन नगरपालिकामा सहज रुपमा अघि बढ्छ त्यहाँ आयोजनासँग रहेको थप बजेट समेत लगानी गर्ने तयारी रहेको निर्देशक बोहराले जानकारी दिनुभयो ।
शुक्रवारसम्म धनगढी उप-महानगरपालिका वडा न. २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले उपकरणको सहयोगमा धमाधम घर तथा अन्य संरचना भत्काइरहेका छन् । धनगढी उपमहानगरपालिका वडा नं ५ तारा नगरका गम्भीरसिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतको यो सडक १६ मिटरको बन्दैछ, बमले भन्नुभयो, थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले मैले पक्की घर आफै भत्काउन सुरु गरेको छु ।
वडा नं २ मा निर्माण भइरहेको गुल्म-चर्च सडक १० मिटर फराकिलो बन्दैछ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड-चटकपुर सडक १६ मिटर फराकिलो बनाइँदैछ ।
घरधनीले संरचना भत्काउँदा नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, उप-महानगरका डिभिजन इन्जिनियर स्वयं उपस्थित भएर सडक क्षेत्र छुट्टाउने काममा सहयोग गरिरहेका छन् । घरधनीहरू आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो ।
उपमहानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रूपमा सम्मान गर्ने, भत्काउन नगरपालिकाले उपकरण प्रदान गर्ने, भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निणर्य गरेको छ ।
सडक विस्तारका लागि आफ्नो क्याम्पसको कम्पाउन्ड आफै भत्काएर सहयोग गरेका सुदूरपश्चिम एकेडेमीका सञ्चालन शुवास शाहीले नगरको विकासका लागि सहयोग पुगोस् भनेर आफैले संरचना भत्काउन सुरु गरेको बताउनुभयो । ‘सडक नगरवासीका लागि बन्दै छ, शाहीले भन्नुभयो, ‘त्यसैले सडक क्षेत्राधिकारमा संरचना पर्ने घरधनीलाई सहयोग गर्न म अनुरोध गर्दछु ।’
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरी सम्झौता भएको उप-महानगरपालिकाका डिभिनल इन्जिनियर दिजराज भट्टले जानकारी दिनुभयो ।
अहिलेसम्म उपमहानगरपालिमा सडक बिस्तारका लागि आफै संरचना भत्काउने घरधनीमा गम्भीर सिंह बम, सुवास शाही, जनकराज जोशी, सुरेशबहादुर सिंह, जी.एम.स्लाम, सुरेश पन्त, मानबहादुर चौधरी, किरण शाह, अर्जुनबहादुर स्वाँर, ,जोगराम चौधरी, हरिदत्त भट्ट, र बहादुरसिंह खत्री छन् । उनीहरुलाई उपमहागरपालिकाले बिशेष सम्मान गर्ने तयारी गरेको छ ।