Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्रीको टिप्पणी- ऋण तिर्नु पर्दैन भन्ने आश जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ


    आइतबार, फाल्गुन ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको टिप्पणी गरेका छन् ।

    आइतबार काठमाडौंमा चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

    नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।

    ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञान समेत दिएको उनको भनाइ थियो ।

    प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै उनले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे ।

    ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरुलाई कदापी सफल हुन दिनेछैनौँ’, महतले भने, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तीलाई हराउनुपर्छ ।’

    उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृति परास्त हुन्छ,’ डा महतले भने । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो ।

    लघुवित्तले अब आफ्नै उदेश्य अनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अथमन्त्री महतको सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारको रुपमा नलिएर ग्रामिण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि उनको आग्रह छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार