Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीआइपीका लागि राखिएका आइसियू खालीः उपचार नपाउँदा शिक्षण अस्पतालका अधिकृतको मृत्यु


    बिहिबार, कार्तिक २० २०७७
    810
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • राजाराम इटनी

    काठमाडौं । अस्पतालकै कर्मचारीले आइसियू र भेन्टिलेटर नपाएर ज्यान गुमाउनुपरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका बहालवाला लेखा अधिकृत राजाराम इटनीको आइसियु र भेन्टिलेटर नपाएका कारण बिहीबार बिहान मृत्यु भएको छ । इटनीलाई अक्सिजन अति कम भएर श्वास प्रश्वासमा समस्या आएपछि बुधबार राति शिक्षण अस्पताल लगिएको थियो । रातिको समयमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसँग उनका परिवारले इटनी अस्पतालकै लेखाअधिकृत भएको जानकारी गराएर उपचार गर्न अनुरोध गरे । उनलाई श्वासप्रश्वासमा अति गाह्रो भएकाले आइसियू वा भेन्टिलेटरमा राखेर उपचार सुरु गर्नुपर्ने थियो । तर अस्पतालका कर्मचारीले लेखाअधिकृत इटनीका लागि आइसियू र भेन्टिलेटर खाली नभएको भन्दै भर्ना गर्न मानेनन् ।

    शिक्षण अस्पतालमा एक आइसियू र एक भेन्टिलेटर भीआइपीका लागि खाली थियो । मानवताका दृष्टिले भीआइपी बिरामीका लागि छुट्याइएका आइसीयू खाली हुँदा पनि श्वास प्रश्वासमा गम्भीर समस्या देखिएका लेखाअधिकृत इटनीलाई भर्ना नगरिएको उनको पाविारिक स्रोतले जानकारी दिएको छ ।

    शिक्षण अस्पतालमा आइसियू नपाएपछि उनलाई राति २ बजे अर्को अस्पताल लगियो । त्यतिबेलासम्म उनको हालत नाजूक भइसकेको थियो । अक्सिजनको लेभल अति तल आइसकेको थियो । पछि अस्पतालकै लेखाअधिकृतलाई भर्ना नगरेकोबारेमा हल्लाखल्ला भएपछि भीआइपीका लागि राखिएको आइसियूमै राख्नका लागि फिर्ता बोलाइयो । त्यतिबेला बिहान ५ बजिसकेको थियो, उनलाई शिक्षण अस्पतालमा लाँदा ।

    श्वासप्रश्वासको समस्या बढेर अक्सिजनको लेभल नै २० भन्दा तल झरिसकेकाले उनको बिहीबार बिहान ६ बजे निधन भयो । शिक्षण अस्पतालले भीआइपी बेड खाली राखेर आफ्नै अस्पतालमा कार्यरत लेखाअधिकृतलाई समयमा भर्ना नगर्दा उनको ज्यान जान पुगेको छ । भीआइपीका लागि छुट्याइएको आइसियू र भेन्टिलेटर खाली राखेर भर्ना नगर्दा लेखाअधिकृत इटनीले करिब ५५ बर्षको अल्पायुमै मृत्युबरण गर्न पुगेका छन् । श्वासप्रश्वासमा समस्या देखिएकाले उनमा कोरोना संक्रमणको अनुमान गरिएको छ । 

    भीआइपीका नाममा आइसीयु खाली राखेर इटनीको ज्यान गएको र यस घटनाले हामीमा मानवता हराइसकेको संकेत गरेको त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागका पूर्व विभागीय प्रमुख केशवराज पौडेल बताउँछन् । पौडेल इटनीका मित्र हुन् । उनले भने–‘हामी जोकोही उपचारका लागि शिक्षण अस्पताल जाँदा हरतरहका सहयोग गर्ने इटनीले आफै बिरामी हुँदा आफैं कार्यरत अस्पतालमा आइसियूमा भर्ना हुन नपाएर ज्यान गुमाउनु बिडम्बना हो । इटनीले शिक्षण अस्पतालमा आइसियू र भेन्टिलेटर नपाएर मध्यरातमा अर्कै अस्पतालमा पुगेर देहत्याग गर्नु परेको खवरले स्तब्ध भएको छु । कतै हाम्रा पठनपाठनमा मानवताको अभाव बढ्दै गएको त हैन ?  गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार