चितवन । भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।
कारागार कार्यालय पोखराबाट असोज २७ गते यहाँ स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङ्का ७२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कात्तिक १४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रमुख काफ्लेले भन्नुभयो “पोखराबाट ल्याउँदा उनको पिसिआर रिर्पोट नेगेटिभ थियो । उपचारका क्रममा क्यान्सर अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” कैदीमा कोरोना सङ्क्रमण देखिएसंगै कारागारमा उच्च सतर्कता अपनाइएको छ । सामान्य रुघा खोकी आएकालाई छुट्टै क्वारेन्टिन निर्माण गरी राखिएको छ । अहिले ४६ जना क्वारेन्टिनमा रहेको उहाँले जानकारी दिनुभयो ।
कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन् । क्षमताभन्दा वढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उहाँको भनाइ छ। कोरोना सङ्क्रमणको जोखिम बढेसँगै अस्पतालमा उपचारका लागि पठाइएका कैदीबन्दीलाई समेत क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गर्दै आएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको छ ।
दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताका सो कारागारमा अहिले छ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित वालबालिका समेत छन् ।