काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा नि:शुल्क खाना खुवाउने काम रोक्नको लागि आदेश दिएसँगै पछिल्लो समय यो विषय चर्चित बनेको छ ।
कोरोना भाइरसको प्रकोप बढेसँगै सरकारले लकडाउन गरेपछि सामाजिक अभियन्ताहरुले पैसा उठाएर रोजगारविहीन भएकालाई खाना खुवाउँदै आएको थियो । तर पछिल्लो समय भने महानगरपालिकाले यो कार्य रोक्नुपर्ने भनेसँगै जनस्तरबाट चर्को विरोध भएको छ ।
यही विषयमा महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो भनाई राखेको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनाको समयमा सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरेकोमा महानगरपालिकाको ध्यानाकर्षण भएको बताएका छन् ।
मेयर शाक्यले नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने समेत बताए । उनले यी असहायको कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौं मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना रहेको समेत बताए ।
मेयर शाक्लये अहिले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई महानगरले सुरुदेखि नै सहयोग गर्दै आइरहेको समेत बताए । लकडाउन अवधिभर काठमाडौंका ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको समेत उनले बताए ।
महानगरले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको बताउँदै महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको रोजगारी दिई जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जिकिर गरे ।
अहिलेको अवस्थामा पनि रोजगारी गुमेर खान नपाएका कोही भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने अवस्था रहेको समेत उनले दावी गरे।
पुरानो बसपार्क लगायतका स्थलहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको जनगुनासो आएको बताउँदै मेयर शाक्यले स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक नागरिकलाई खाना खुवाउने कार्यमा महानगरपालिका तयार रहको प्रष्ट पारे ।
अहिलेको जस्तो असुरक्षित रुपमा यो कामलाई अगाडि बढाउनु भन्दा सुरक्षित रुपमा यो कामलाई निरन्तरता दिन महानगरले भनेको र यसलाई आग्रह–पुर्वाग्रहका रुपमा नलिन समेत मेयर शाक्यले आग्रह गरेका छन् ।