काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।
नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको हो । विमानस्थलमा नरावणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ ।
यसअघि नरावणेले नेपालविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि उनी विवादमा आएका थिए ।
सुरक्षा कडा पारियो
नरावणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ ।
सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । नरावणेको अभिव्यक्तिको कारण उनीविरुद्ध आक्रोश हुनसक्ने विश्लेषण गर्दै प्रहरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
काठमाडौं आइसकेका उनलाई उनलाई सोल्टी होटल सम्म लैजान तीनवटा रुट तय गरिएको छ ।
विमानस्थलबाट ललितपुर हुँदै, नयाँ बानेश्वर तर्फबाट र महाराजगञ्ज तर्फ मध्ये एउटा बाटोबाट लाने बताइएको छ।
सेनाले उनलाई विमानस्थलबाट स्कर्टिङ गरेर सोल्टी होटल लैजाने छ । सुरक्षाका कारण तीनवटा विकल्प मध्ये कुन रुटबाट होटल लैजाने भन्ने सार्वजनिक गरिएको छैन । तर, सवै रुटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बुधवार नै उनले पशुपती दर्शन गर्दै छन् । पशुपति दर्शनका लागि पनि तीनवटा रुट तय गरिएको छ ।