Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा फुटकै सँघारमा हुँदा पनि वामदेव किन मौन ?


    मंगलबार, कार्तिक १८ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले फेरि विवाद चर्केको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘केमेष्ट्री’ मा समस्या आएसँगै नेकपाको विवाद उग्र बन्दै गएको बुझिएको छ । 

    तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदाका बेलाको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई इमान्दारीपूर्वक पालना नगरेकाले नै अहिलेको समस्या आएको प्रचण्ड पक्षधर नेताहरु बताइरहेका छन् । तर प्रम ओली पक्षधर भने गत वर्षको मंसिरमा ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री बन्ने सहमति नमान्नुलाई समस्याको मूल जड मानिरहेका छन् । 

    सोहीकारण नेकपामा विवाद हुनु सामान्य जस्तै भैसक्यो । केही समयअघि यस्तै विवाद बढ्दै जाँदा पार्टी नै फुट्ने अवस्था आएकोमा नेकपा उपाध्यक्ष वामदेव गौतमले विवाद समाधानको सूत्र ल्याएर विवाद मत्थर भएको थियो । त्यसबेला वामदेवको ६ बुँदे सो प्रस्ताव नल्याएको भए नेकपाको एकता भंग लगभग निश्चित रहेको थियो । तर वामदेवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी हितको लागि भन्दै कुनै गुटमा नलाग्ने समेत बताएका थिए । 

    वामदेवले सो कठोर निर्णय लिनुको पछाडि प्रम ओलीको याचना पनि रहेको वामदेव निकट नेताहरू बताइरहेका छन् । आफू अल्पमतमा परेपछि प्रम ओलीले पार्टीका महासचिव विष्णु पौडेलमार्फत् वामदेवसँग सहयोग मागेका कारण पनि वामदेवको सो प्रस्ताव आएको बताइन्छ। वामदेवको सो प्रस्ताव प्रधानमन्त्रीको ‘फेभर’ मा रहेको भन्दै पार्टी भित्र उनको आलोचना समेत भएको थियो । 

    तर पनि वामदेवकै प्रस्तावमा आधारित भएर सहमति गरेसँगै नेकपाको विवाद साम्य भएको थियो । 

    तर अहिले नेकपा फेरि फुटको सँघारमा छ। तर यो पटक भने वामदेव मौन बसेका छन्। उनले अहिलेसम्म आफ्ना भनाईहरु सार्वजनिक समेत गरेका छैनन् । खुमलटारमा हुने केही बैठकमा उनी सहभागी पनि छन् । तर उनी अहिले मौनता साँधेर बसिरहेका छन् । उनको यो मौनतालाई नेकपा भित्रै अनौठो मानिइरहेको छ । 

    किन मौन छन् वामदेव ?

    नेकपा भित्र आफ्नो विचार स्पष्ट राख्ने नेताका रुपमा चिनिन्छन् वामदेव। नेकपा भित्रको राजनीतिकअवस्था उनको भनाईबाट बुझ्न सहज हुने गरेको छ । उनले वास्तविकतालाई कुनै ‘सुगर कोट’ नगरिकन सार्वजनिक रुपमा राख्ने गरेकाले पनि उनको भनाईलाई अर्थपूर्ण मान्ने गरिएको छ । 

    तर पछिल्लो समय भने वामदेव आफ्नो स्वभावको विपरित चुप बसेका छन् । नेकपाको एकता नै संकटमा परेको अवस्थामा समेत अहिलेसम्म वामदेवको कुनै भनाई बाहिरिएको छैन । उनले प्रम ओलीलाई समेत नभेटेको धेरै भैसकेको छ । यी सबैको कारण भने प्रम केपी शर्मा ओली नै रहेको वामदेव निकटस्थको आरोप छ । 

    पार्टीमा अल्पमतमा पर्दा हरेकपल्ट वामदेवको साथ खोज्ने प्रम ओलीबाट वामदेवले धेरै पटक धोका पाइसकेको बताइन्छ । आफू अप्ठ्यारोमा पर्दा वामदेवलाई सांसद देखि उपप्रधानमन्त्री पदको प्रस्ताव राख्ने प्रम ओलीले मौकामा भने सधैं धोका दिएको इतिहासबाट देखिन्छ ।

    प्रतिनिधिसभाको चुनावमा गृह जिल्लामा उनी पार्टीकै अन्तर्घातका कारण पराजित हुन पुगे । त्यसबेला वामदेवलाई हराउन प्रम ओलीको हात रहेको आरोप लागेको थियो । त्यसपछि उनले कहिले डोल्पाबाट, कहिले काठमाडौंबाट र कहिले कास्कीबाट उप चुनाव लड्न खोजेपनि हरेक पटक प्रम ओलीले नै उनको बाटो रोकेका थिए । 

    प्रतिनिधि सभामा सांसदको हैसियतमा जाने वामदेवको इच्छामा ब्रेक लागेपछि वामदेवले राष्ट्रिय सभामा चित्त बुझाउने मनस्थिति बनाए । जसरी महाभारत कथामा पाण्डवले कौरवसँग पाँच गाउँ माग्दा पनि पाउन सकेका थिएनन्, वामदेवले राष्ट्रिय सभाको सांसद पद पनि प्रम ओलीबाट पाउन सकेनन् । 

    वामदेवले ओलीलाई पटकपटक संकटबाट निस्कन सघाए पनि प्रम ओलीले उनलाई भने सधैं धोका नै दिने गरेको आरोप वामदेव निकटका नेताहरु लगाउँछन् । 

    गत वर्ष फागुनमा नेकपा सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । तर प्रम ओलीले सो निर्णय ठाडै अस्वीकार गरे । प्रम ओलीले राष्ट्रिय सभामा युवराज खतिवडालाई निरन्तरता दिनको लागि पनि वामदेवलाई सांसद बनाउन चाहेनन् । नेपाली राजनीतिमा वामदेव स्तरको नेताको यो हदको अपमान देख्न पाइँदैन । 

    फागुन १९ मा अर्थमन्त्री पदबाट राजीनामा दिएका खतिवडालाई भोलिपल्टै अर्थमन्त्री नियुक्त गरेर ओलीले आफ्नो नियत स्पष्ट पारिसकेका थिए । तर गत भदौमा भने प्रम ओलीको जोडबल चलेन । युवराज खतिवडाले मन्त्री भएको ६ महिनाभित्र सांसद बन्नुपर्ने भएपनि त्यसअघि नै वामदेवले सांसद बन्ने इच्छा सार्वजनिक रुपमै जाहेर गरे । सचिवालयले पनि उनलाई सांसद बनाउनका लागि सरकारलाई आग्रह समेत गरेपछि भने प्रम ओली संकटमा परे । उनी वामदेवलाई सांसद बनाउन सिफारिस गर्न बाध्य भए ।

    प्रम ओलीका प्रिय पात्र युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन नसकेको इगो भने ओलीले सार्वजनिक रुपमै देखाए। प्रम कार्यालयमा आर्थिक विशेष सल्लाहकारको रुपमा खतिवडालाई उनले नियुक्ति दिए । सो नियुक्तिको केही समयपछि नै खतिवडालाई अमेरिकाको राजदूत सिफारिस समेत गरे । 

    तर बल्लबल्ल राष्ट्रिय सभाको सांसद हुन लागेका वामदेवको बाटो भने अदालतको आदेशद्वारा छेकियो । वामदेवको मनोनयन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भयो । वामदेव निकटकाहरु भने यो घटनामा पनि प्रम ओलीकै हात रहेको आरोप लगाइरहेका छन् । 

    प्रम ओलीको निर्देशनमा महान्यायाधिवक्ता अग्नि खरेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेस निकट अधिवक्ता दिनेश त्रिपाठीलाई प्रयोग गरेर वामदेवविरुद्ध मुद्दा हाल्न लगाएको आरोप लागिरहेको छ । दशैं अघि नै बहस सुरु भएको उनको मुद्दालाई अदालतको नियममा रहेको छिद्र प्रयोग गर्दैं पछाडि धकेल्ने काममा समेत नेम्वाङ र खरेल लागिपरेको वामदेव निकटहरू बताउँदै आएका छन् । 

    फेरियो अवस्था

    विगतमा पटकपटक प्रम ओलीबाट धोका पाएपनि उनलाई साथ दिन नछोडेका वामदेव  यो पटक भने फरक कदम चाल्न तयार रहेको बताइन्छ । वामदेवबाट सूचना लिने र स्वार्थ अनुकुल प्रयोग गर्ने गरेकाले पनि यो पटक प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले वामदेवलाई अहिले केही नबोल्न र प्रम ओलीसँग नभेट्न सल्लाह दिएको वामदेव निकट सूत्रबाट थाहा भएको छ । 

    यसअघि कर्णालीको विवादको क्रममा समेत प्रम ओलीले वामदेवको नियुक्ति रद्द गर्ने धम्की समेत दिएको चर्चा अहिले नेकपा वृत्तमा छ । सोहीकारण अदालतबाट यो विषय नटुंगिएसम्म उनलाई केही नबोल्न सुझाव दिएको बताइन्छ। 

    वामदेवको मुद्दा टुंगिएसँगै वामदेव उपप्रधानसहित सम्भवत: गृह मन्त्री बनेर सरकारमा ओलीलाई काउन्टर दिने रणनीति रहेको चर्चा पनि चलेको छ । 

    तर योपटक भने वामदेवले प्रम ओलीको बचाउ नगर्ने बुझेपनि वामदेवलाई फकाउने प्रयास भने भैरहेको बताइन्छ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार