सिलगढी । डोटीकी एक १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने प्रयास गरिएकाे छ। यसमा बालिकाका बुवाले प्रहरी जवानविरुद्ध उजुरी दिएका छन्।
डोटीको गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशिल सिंहले जोरायल गाउँपालिकाकी एक बालिकालाई बलातकारपछि हत्या गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो। जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरी जवान सुशिल भागेका छन्।
उनले कात्तिक १३ को राति ११ बजेतिर घरमै सुतिरहेको वेला बलात्कार गरेर मरेको भनेर कोदाबारीमा फालेको उनका बुवाले बताएका छन्। घरदेखि घिसार्दै लगेर कोदोबारीमा फालेको अवस्थामा राति ३ बजे भेटेको उनले बताए।
उनले भने, ‘राति कोही चिच्चाएको आवाज आएको थियो। को रहेछ भनेर गएको त छोरी पो रहेछ। छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरीसकी भनेर फालेको रहेछ।’
घटनाको तीन दिनपछि मात्रै बालिकालाई होस आएको थियो। उनको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ।
उनका बुवाले घटनाको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय, डोटीमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन्। अझै पनि बालिकाका बरबराउने गरेको जनाएको छ। उनको घाटी, खुट्टा र शरीरमा निलडाम रहेको छ।
घटनाको दोस्रो दिननै उजुरी लिएर गएको भएपनि प्रहरीले दर्ता नगरेको उनका बुवाले बताए। गड्सेरा प्रहरी चौकीका इन्चार्ज चन्द्रसिंह भण्डारीले उपचारपछि आउन र घटनाबारे आपसी सहमति गरौला भनेको उनले सुनाए।
त्यसपछि उनी उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले पीडित बालिकाका आफन्तले उजुरी दर्ता गर्न आएपछि आरोपित प्रहरी जवान प्रहरी चौकीको सम्पर्कमा नरहेको बताए।
तर, जिल्ला प्रहरी कार्यालयले पनि उजुरी दर्ता गर्न आनाकानी गरेको बालिकाका बुवाले बताए। जिल्ला प्रहरी कार्यालयका एसपी पाण्डेयले भने उजुरीको ब्यहोरा नमिलेकाले मात्र निवेदन सच्याएर ल्याउन पीडितका आफन्तलाई भनेको जिकिर गरे। ब्यहोरा मिलेर आउने बितिक्क दर्ता गरिएको उनको भनाइ छ।