Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाँगुनारायण नगरपालिकाकै पहिलो व्यायाम पार्क ताथलीमा


    मंगलबार, कार्तिक १८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भादगाउँ । चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगै व्यायाम पार्क बन्न लागेको हो । ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्न लागेको हो ।

    यसका लागि चाँगुनारायण–९ ले बजेट विनियोजन गरेको छ । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा बजेट विनियोजन गरिएको थियो । गत वर्ष बजेट विनियोजन भए पनि पार्क निर्माणका लागि उपभोक्ता समिति गठनसँगै पार्कको काम अघि बढाउने क्रममा लकडाउनको प्रभावका कारण रोकिएको थियो । सोही योजनाको कामले अहिले गति लिएको हो । पार्कमा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने र सामान्य खेलकुदका उपकरण जडान गरिने छ । युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै निर्माण हुन लागेको पार्कमा जडान गरिएको उपकरणमा शारीरिक व्यायाम गर्न सकिने र त्यसले शारीरिकरूपमा स्र्फूत रहन सहयोग पुग्ने भएकाले व्यायाम पार्क निर्माणको योजना बनाएको वडाध्यक्ष गणेश त्यातले बताउनुभयो ।

    पार्क निर्माणका लागि सार्वजनिक जग्गा सम्याउने काम थालिएको उपभोक्ता समितिका अध्यक्ष विकास बासुकलाले बताउनुभयो । “व्यायाम पार्क बनाउने योजना गत वर्षकै हो, लकडाउनका कारण गत वर्ष पार्कका लागि आवश्यक सामानहरु चीनबाट ल्याउनु पर्ने हुँदा समस्या भएको थियो, लकडाउन खुलेसँगै हामीले चीनबाट उपकरण ल्याएका छौँ, अब पार्क छिट्टै बन्छ”, पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुकलाले भन्नुभयो । अध्यक्ष बासुकलाले भक्तपुर नगरपालिकाका विभिन्न टोलमा व्यायाम गर्ने सामानहरु जडान गरी पार्क बनाइएको र पार्कमा बालबालिकादेखि वृद्धवृद्धासम्मले अभ्यास गरेको देखेपछि ताथलीमा पनि सो किसिमको पार्कको महसुस स्थानीयवासीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको बदलिँदो जीवनशैलीको कारण नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो छ । शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि व्यायामको आवश्यकता महसुस गरी व्यायाम पार्क बनाउन लागेका हौँ ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार