काठमाडौं । फ्रण्टलाइमा खटेर काम गर्दै आएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । हालसम्म सुरक्षामा खटिएका नेपाल प्रहरीका ६ हजारभन्दा बढीमा संक्रमण देखिइसकेको छ ।
हालसम्म ६ हजार १ सय २१ प्रहरी संक्रमित भएको र ती मध्ये ५ हजार १ सय ६२ जना संक्रमण मुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तैगरी हाल ९ सय ५९ जना संक्रिय संक्रमित रहेका छन्। प्रहरी हेडक्वार्टरमा मात्रै २ सय ६१ जना सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा अहिले १ सय ८१ जना संक्रिय संक्रमित प्रहरी छन्।
यस्तैगरी प्रदेश २ मा कोरोना संक्रमण देखिएका ४ सय ३८ प्रहरी निको भएका छन् भने १३ जना उपचारत छन्। बागमती प्रदेशमा २ सय ८४ जना निको भएका छन् ६८ जनाको आइसोलेसनमा छन्।
गण्डकी प्रदेशमा ३ सय ४ जना संक्रमित प्रहरी निको भएका छन् भने १ सय ५५ संक्रिय संक्रमित छन्। लुम्बिनी प्रदेशमा पनि निको हुने प्रहरीको संख्या ४ सय ५४ पुगेको छ। लुम्बिनीमा अहिले १ सय ९ प्रहरी आइसोलेसनमा छन्।
कर्णाली प्रदेशमा कोरोना देखिएका १ सय ३८ प्रहरी निको भएका छन् भने ३७ जनाको उपचार भैरहेको छ। सुदूरपश्चिम प्रदेशमा २ सय ५५ प्रहरी निको भएका छन् भने ३२ जना आइसोलेनमा छन्।