जनकपुरधाम । उमेरले ५० काटेका भारतीय नागरिकले नेपालमा गम्भीर अपराध गरेका छन् । भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहले एक १० वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेका छन् ।
ती बालिका राम्रोसँग बोल्न नसक्ने अवस्थाको रहेको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने ती बालिकालाई भारतीय नागरिक साहले चकलेटको प्रलोभनमा डेरासम्म लगेको बताइएको छ ।
घरमा कोही नभएको मौका छोपेर साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बलात्कार गरेका हुन् । एकै घरमा बस्दै आएकी बालिकाको आमाले छोरीलाई खोज्दै जाँदा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले साहलाई उनकै कोठाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।