Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालगञ्जको जुवाः लाखौं रकम गायब 


    सोमबार, कार्तिक १७ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एसपी ओम राना

    बाँके ।  गत बुधबार नेपालगञ्जमा प्रहरीले छापा हानेको जुवाखालबाट लाखौं रकम गायब भएको छ । जुवाखालमा करिब ७० लाख रुपैयाँ रहेकोमा प्रहरीले करिब २९ लाख रुपैयाँमात्र बरामद भएको बताएपछि बाँकी पैसाको खोजी सुरु भएको छ ।

    ठूलो रकम गायब भएपछि प्रहरीमाथि नै शंका भएको छ । सुरुमा त्यहाँ वडा प्रहरी कार्यालयका इन्सपेक्टर डिल्ली खड्काको नेतृत्वमा छापा हानिएको थियो । जिप्रकाले पनि छापा हान्ने तयारी गरेको थियो । वडाले छापा हानेलगत्तै एसपी ओम राना आफैं पुगेका थिए ।

    स्रोतका अनुसार सुरुमा ६ लाख रुपैयाँ मात्र बरामद भएको थियो । राति जिप्रकाका मुद्दा शाखाका इन्सपेक्टर हृदय सापकोटाको टोली पुनः पुगेर खानतलासी गरेको थियो । जसका क्रममा २९ लाख भेटिएको बताइएको छ ।

    स्रोतका अनुसार वडा प्रहरी कार्र्यालयको सेटिङमै त्यहाँ जुवा चलेको थियो । वडाका विष्ट थरका एक घुुमुवा प्रहरी नै सेन्ट्री बसेका थिए । सुजन नाम गरेका अर्का ड्राइभरलाई पनि जुवाडेलाई सहयोग गर्न खटाइएको थियो । जिल्लाबाट टोली छापा हान्न आउन लागेको सूचना पाएपछि वडाले अगाडी नै छापा हानेको हो । त्यस क्रममा जुवाखालको मोटो रकम हिनामिना भएको स्रोत बताउँछ । पछि जिप्रकासँग समेत लेनदेन भएपछि घटनालाई गोप्य राख्ने प्रयास भएपनि माथिल्लो निकायमा पुगेको छ ।

    उता शनिबार राती एसपी रानाका एक घुमुवा प्रहरीले कोहलपुरको एक घरमा छापा हानेको विषय पनि विवादित बनेको छ । जुवा खेलेको आशंकामा कृष्ण गिरीको घरमा डिसी थरका घुुमवा प्रहरी पुगेका थिए । गिरीको परिवारले नै उनलाई कुटपिट गर्न लागेपछि ती प्रहरीले पेस्तोल देखाएका थिए । पछि इप्रका कोहलपुरका डिएसपी कुलदिप चन्द पुगेर उनलाई छुटाएको स्रोत बताउँछ । डिसीलाई एसपी रानाले पैसा असुल्न प्रयोग गर्दै आएका छन् । त्यसरी बिना कुनै आदेश सर्वसाधरणको घरमा खानतालासी लिन गएको विषयमा प्रहरी मुख्यालयसम्म उजुरी परेको छ ।

    उता जिप्रकाकै इन्सपेक्टर सुरज खत्रीको आफ्नै धन्दा छ । सीमामा केराउ भारत पठाउने र अन्य सामान नेपाल भित्र्याउने गिरोहसँग सेटिङमै उनले तस्करी गर्दै आएका छन् । तस्कर लल्लु मन्सुरसँग मिलेर उनले रातको समयमा तस्करीको सेटिङ चलाउँदै आएका छन् । अनिल विक र शशी साहलाई घुमुवाका रुपमा खटाएर उनले यसरी तस्करीको लाइन मिलाउँदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार