काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आज जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने विषय प्रधानमन्त्रीले विचार नपुर्याई भनेको उनले उल्लेख गरे । गम्भीर विषयमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने उनले बताए ।
तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको उनले सुनाए । उनले सरसल्लाहबिनै प्रधानमन्त्री प्रचण्डले छानबिन गर्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।
दरबार हत्याकाण्डको केही समयपछि नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री बनेका थिए । पछि ओली प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी हुन सक्ने भन्दै उनीसँग बुझ्ने नेता नेपालले बताए ।
एमालेप्रति लक्षित गर्दै उनले कतिपयलाई गठबन्धन नपचेर ‘बान्ता हुने गरेको’ टिप्पणी गरे । उनले गठबन्धन पाँच वर्षसम्म चल्ने जिकिर गरे ।
माधव नेपालको भनाइ पढ्नोस्–
जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ, त्यतिखेर मेरो नाम आएको थियो । तपाईंहरूले बिर्सिनुभएको छैन होला । मैले के राखेको थिएँ भन्दा– म भनेको कम्युनिस्ट पार्टीको नेता हो । म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ । गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु । होइन भने दोष हामीलाई आउने अनि नेपाली कांग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो । त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो, होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरतमोहन अधिकारीलाई राख्नुस्, उहाँ कानुनको ज्ञाता पनि हो भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यो कुरा सुन्नमा आएको थिएन । तर, यो पनि सत्य हो, त्यो आयोग बनाउन मेरो नै भूमिका हो । त्यो बेलाको तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए– म आफैँ गर्छु । छानबिन भनेका थिए । तपाईंको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए, मलाई पनि जोडिदिए । राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्यो । कति सबै ल्याउन सक्यो, सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि ! कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधव बाबु भन्नुहुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ । वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ । तीर त्यतै सोझिन्छ । ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ कि, उहाँलाई सोध्नुपर्ला ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend