Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर


    शनिबार, कार्तिक १५ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कर्णाली । दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर(दृश्यावलोकन स्तम्भ) तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको छ ।

    माथिल्लो कर्णाली जाने यात्रुहरुले समेत यही सडक प्रयोग गर्ने हुँदा गुराँसेमा यात्रुहरुको बाक्लो चाप हुने गर्दछ । कोरोना भाइरसको त्रासका बीच पनि यात्रुहरुको रोजाइँमा भ्यूटावर बन्ने गरेको छ । अग्लो डाँडा, त्यसैमाथि भ्यूटावर, फूलसहितको गुराँसको रुख, रुखमा बसेका डाँफेलगायतका चराको आकृति देख्न पाइन्छ यहाँ । भ्यूटावर निर्माण समितिका अध्यक्ष मानबहादुर घर्तीले गुराँसको प्रवद्र्धन गर्ने उद्देश्यले उद्यान निर्माण गरेको बताए । “गुराँसैगुराँसको जङ्गल भएकाले गाउँपालिकाको नामकरण गुराँसबाट गरियो, गुराँस नफुल्ने याममा समेत गुराँस देखाउन उद्यान बनाएका हौँ”, उनले भने, “यसले गर्दा पर्यटकको आकर्षण बढ्यो ।”
     
    भ्यूटावरबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिमका विभिन्न भूभागदेखि सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिन्छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट घुमफिरका लागि त्यहाँ पुग्नेहरुको सङ्ख्या उत्तिकै हुन्छ । अझ यो सङ्ख्या बिदाका दिन बढी हुने गरेको स्थानीयवासी बताउँछन् । भ्यूटावर तथा उद्यानका कारण चहलपहल बढ्नुका साथै आसपासका होटल व्यवसायले गति लिन थालेका छन् । 

    गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गुराँस उद्यान गाउँपालिकाको पहिचानसँग जोडिएको बताए । “फोटो/सेल्फी लिनेको थामिनसक्नु भीडभाड हुन्छ, यहाँ आउनेहरु सबै आनन्दित भएर फर्कने गरेका छन्”, उनले भने । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा डिभिजन वन कार्यालय दैलेखले उपभोक्ता समितिमार्फत भ्यूटावर निर्माण गरेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार