कुलप्रसाद केसी र मोहनकुमार गुरुङ
रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने कनिष्ट अधिकृतको सरुवामा पनि मन्त्रीले हस्तक्षेप गर्न थालेका छन् । रुपन्देही ट्राफिकले बेलहियाको ट्राफिक पोष्टमा नियम अनुसार गर्न लागेको सरुवामा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नै हस्तक्षेप गरेका छन् । पटक पटक बेलहिया ट्राफिकमा बसेका मोहन गुरुङलाई नै पुनः खटाउन आन्तरिक मामिला मन्त्री केसीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका इन्चार्ज दिवस जीसीलाई दबाब दिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार बेलहिया ट्राफिक पोष्ट आकर्षक मानिने भएकाले त्यहाँ दोहोर्याएर नपठाउने प्रचलन रहेको छ । बेलहियामा यसअघि बसिसकेका सई गुरुङलाई पठाउने पक्षमा थिएनन् । तर मन्त्री केसीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बिकमार्फत् गुरुङलाई नै पठाउन दबाब दिएपछि जिल्ला ट्राफिकका इन्स्पेक्टर जीसी अन्योलमा परेका छन् । बेलहिया ट्राफिकमा बसेर अकूत आर्जन गरिसकेका गुरुङले शक्तिकेन्द्र रिझाएर आफ्नो सरुवा गराउन दबाब दिएका छन् । एसपी विकले मन्त्री केसीको सिफारिस भन्दै सई गुरुङलाई बेलहिया पोष्टमा सरुवा गर्न दबाब दिइरहेका छन् ।
गुरुङको दरबन्दी पनि रुपन्देहीमा होइन, उनको दरबन्दी पर्यटक प्रहरी भृकुटीमण्डप काठमाडौंमा छ । तर दरबन्दी नै नभई काजमा कार्यरत सईलाई मालदार ट्राफिक पोष्टमा सरुवा गर्न मन्त्री केसी र प्रदेश ट्राफिकका एसपी विक नै लागेका छन् ।
एसपी विक यसअघि धादिङमा हुँदा विवादमा परी अवधि नपुगी तानिएका थिए । प्रहरी आचरणविपरीत त्रिशुली दोहन गर्नेहरूसंग मिलेमतो गरेर ब्यक्तिगत फाइदा लिएको धेरै गुनासो आएपछि उनी ६ महिनामै तानिएका थिए । गुण्डानाइके राधेसँग मिलेर हप्ताअसुली गरेको आरोप पनि उनीमाथि लागेको थियो । नेकपाका नेता छविलाल विकसँग अनुनय विनय गरी उनी पुनः लुम्बिनी प्रदेश ट्राफिकको प्रमुखमा सरुवा भएका हुन् ।