काठमाडौं । नेपालको सूचना प्रबिधि क्षेत्रमा एकपछि अर्को नियुक्ति लिएर ठेक्कापट्टामा अरबौंको हेराफेरि गर्ने विकल पौडेल र सुनिल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ ।
पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाबिरुद्ध अख्तियारले ३ बैशाख, २०८० मा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी फरार थिए ।
२५ करोडको अस्वाभाविक लागत स्वीकृत गराएर राष्ट्रिय भुक्तानी प्रणाली(नेशनल पेमेन्ट गेटवे) खरिद गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको आरोपमा राष्ट्रिय सूचना प्रबिधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलबिरुद्ध अख्तियारले १५ असोज, २०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सुनिल पौडेलका बिरुद्ध मुद्दा दायर गर्दा उनी नेपाल दूरसंचार कम्पनी(टेलिकम)का प्रबन्ध निर्देशक थिए ।
विकल पौडेल र सुनिल पौडेल नेपालको सूचना प्रबिधिका क्षेत्रमा पावर सेन्टरलाई प्रभावमा पारी एकपछि अर्को फड्को मार्न सफल हुँदैआएका थिए । दुबै पौडेल बन्धु १ करोड लागतमा हुने काम १ अर्ब बनाउँदै त्यसबाट अथाह लाभ लिने र त्यही लगानी शक्तिकेन्द्रमा बुझाएर राज्यका सूचना प्रबिधि सम्बन्धी संस्थाको प्रमुखमा नियुक्ति लिन सफल पात्र हुन् ।
विकल पौडेल सुरक्षण मुद्रण विकास समितिको कार्यकारी निर्देशक हुँदा ले सेक्युरिटी प्रेसको लागत ८ अर्बबाट २७ अर्ब रुपैयाँ पुर्याउने काम गरेका थिए । सुनिल पौडेलले ६ बर्षअघि देशका लागि आवश्यक नै नभएको नेशनल पेमेन्ट गेटवे २५ करोडमा खरिद गरे, जुन प्रणाली अहिलेसम्म पनि त्यत्तिकै थन्किएको छ । जुन पार्टीको सरकार आए पनि ती पार्टीका शीर्षनेतालाई नै प्रभावमा राख्नसक्ने खुबी भएका पौडेल बन्धुले सूचना प्रविधि क्षेत्रमा राष्ट्रलाई अरबौं हानी नोक्सानी पुर्याएको कुरा त महालेखा परीक्षकको प्रतिवेदनले औंल्यायो, तर उनीहरुको भ्रष्टाचारको यात्रा रोकिएन ।
गोकुल बास्कोटा संचार मन्त्री हुँदा उनका भित्रिया बनेका पौडेल बन्धु मोहनबहादुर बस्नेतदेखि ज्ञानेन्द्र कार्की हुँदा पनि उत्तिकै हावी थिए । यी पौडेल बन्धुमध्ये विकल पौडेल त अमेरिकाका ग्रिनकाल्ड होल्डर हुन् । यी पौडेल बन्धुलाई पावर सेन्टरमा पुर्याउने मुख्य पात्र हुन्, साविक धनकुटाको मुगा र हाल मालीगाउँ घर भएका सिद्धार्थ थापा । सिद्धार्थ थापा पंचायतकालदेखि बहुदलकालमा समेत प्रधानमन्त्री हुन सफल सूर्यबहादुर थापाका नाति, राप्रपा हुँदै हाल कांग्रेसका नेता भएका सुनिल थापाका छोरा हुन् ।
सिद्धार्थ पछिल्लो दशकमा राजनीतिक परिवारमा हुर्केका सबैभन्दा प्रभावशाली बिचौलिया हुन्, उनले नै विकल र सुनिललाई डा. आरजु राणा, केपी शर्मा ओलीदेखि ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाई जीवन आचार्यसँग कनेक्सन मिलाएर यी पौडेल बन्धुलाई सूचना प्रविधि क्षेत्रमा एकपछि अर्को नियुक्ति दिलाउने काम गरेको तथ्य जति लुकाए पनि लुक्न सक्दैन ।
सिद्धार्थ थापाले नै विकल पौडेल र सुनिल पौडेललाई बालुवाटारमा लगेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवासँग निकट बनाएका थिए । त्यही कनेक्सनका आधारमा सुनिल पौडेललाई नेपाल दूरसंचार संस्थान (टेलिकम)को प्रबन्ध निर्देशक नियुक्ति गराइयो । सेक्युरिटी प्रेस खरिदमा विवादमा परेका विकल पौडेललाई पुनः नियुक्ति गरियो ।
स्रोतका अनुसार सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउनका लागि तत्कालीन संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र त्यतिबेलाको बालुवाटारलाई मिलाउन भनी सिद्धार्थ थापाले ४ करोड मूल्यबराबरको बीएमडब्लु गाडी उपहार लिएका थिए । सुनिल पौडेललाई नियुक्ति गराएबापत पाएको उपहारको त्यही गाडी प्रयोग गरी सिद्धार्थ थापा अहिले पनि ठूला ठेक्कामा सेटिङमा हिंड्ने गरेका छन् ।
विकल पौडेलमार्फत् सूचना प्रविधि पार्क बनेपाको भवन निर्माणको ठेक्का मिलाइदिन्छु भनी केसी कन्ष्ट्रक्सनका रोहन केसीसँग डिल गर्ने पनि उनै हु्न् । तर काम नमिलाउँदै विकल भ्रष्टाचार मुद्दा दर्ता भएर निलम्बनमा परेपछि एडभान्सबापत रोहनसँग लिएको रकम अझै फिर्ता नगरेको स्रोतको दाबी छ । बरु प्रधानमन्त्रीकी छोरी तथा बालुवाटारकी शक्तिशाली प्रमुख स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्यमार्फत् उक्त ठेक्का उक्त कम्पनीलाई दिलाएरै छाड्ने आश्वासन रोहन केसीलाई दिंदैआएका छन् ।
जुन पार्टी सरकारमा आए पनि सिद्धार्थ थापाहरुको पहुँच बालुवाटारका शक्तिकेन्द्रमा पुग्ने गरेको छ । ठूला ठेक्का, नियुक्ति र सरुवामा उनीहरुकै बोलवाला रहँदैआएको छ । वर्तमान सरकारका दुबै घटक नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैतिर सिद्धार्थले सेटिङ मिलाउने गरेका छन् । सिद्धार्थ थापा जस्ता बिचौलियाको उद्योग, ब्यापार र आयस्रोतको बाटो भने केही पनि देखिदैन । तर करोडौं पर्ने गाडीहरुदेखि जीवनशैली अरबपति ब्यापारीको भन्दा पनि बढी देखिन्छ । उनी ठेक्कापट्टा, कर्मचारी सरुवा र नियुक्तिको मोलतोल गर्न होटल होटलमा डिल गर्न तल्लीन छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसँग पनि सिद्धार्थ थापाको उठबस बाक्लो छ ।
सिद्धार्थ थापाकै डिजाइनमा जयबीरलाई स्यानिटरी प्याडको ब्यापारतिर लगाएर फसाउने काम समेत भइसकेको छ । अघिल्लो बर्षको बजेटमा जयबीरकै लागि स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सारछुट दिने प्रावधान ल्याइएको थियो । ९० प्रतिशत भन्सारछुट दिएर स्वदेशी स्यानिटरी प्याड उत्पादन बन्द गराउन लागिएकोमा बिरोध हुँदैआएको छ । देउवा शक्तिहीन भएपछि यही स्यानिटरी प्याड प्रकरणले जयवीरलाई अख्तियार जस्ता निकायले अप्ठेरोमा पार्नसक्ने खतरा उत्तिकै छ । ललिता निवासको जग्गा दर्ता भएको २५ बर्षपछि छानबिन हुँदा बृद्धअवस्थाका ब्यक्तिबिरुद्ध समेत मुद्दा दर्ता भएको छ ।
सुनिल थापा कांग्रेसको राजनीतिमा छन् उनका छोरा सिद्धार्थ अहिले पनि बाबु कांग्रेसको नेता भएकाले उनको आडमा बिचौलिया धन्दा गर्ने गर्दछन् । माओवादी केन्द्रमा राष्ट्रिय ज्वाईको उपमा पाएका कोशी प्रदेशसभामा सांसद जीवन आचार्य र उनकी पत्नी गंगा दाहालसँग कनेक्सन भएका रामेछापका मनोज ढुंगेलले विभिन्न ठेक्कादेखि नियुक्ति र सरुवा बढुवाको बिचौलियाको काम गर्ने गरेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि सिद्धार्थले मनोज ढुंगेलमार्फत् जीवन आचार्यबाट काम लिने गरेका छन् ।
पौडेलले एक दशकदेखि सबै ठूला दलका शीर्षनेता र उनीहरुका पारिवारिक सदस्यका अतिरिक्त तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई मुट्ठीमा राख्दै देशको सूचना प्रविधि क्षेत्रका अरबौंका ठेक्कामा सेटिङ गर्दैआएका थिए । सेक्युरिटी प्रेस खरिदमा अस्वभाविक लागत स्टीमेट तयार गर्ने विकल पौडेल नै थिए । २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ८ अर्ब रुपैयाँमा खरिद गर्ने र हेटौंडामा राख्ने भनिएको सेक्युरिटी प्रेसको लागत मूल्य विकल पौडेलकै डिजाइनमा ३ गुणा बढाएर २७ अर्ब रुपैयाँसम्म पु¥याइएको थियो । पौडेलले नै सबै फिचर थप्ने भनेर उक्त प्रेसको बढाउँदै बढाउँदै ३३ अर्ब पुर्याएका थिए ।
केन्द्रका कार्यकारी निर्देशक पौडेलले सेक्युरिटी प्रेस खरिद गर्ने निश्चित नहुँदै २० करोड रुपैयाँको भूमिगत इन्धन भण्डारण टयांकी निर्माण गरेका थिए । प्रेस खरिद नहुँदै विद्युत प्रसारण लाइन, ट्रान्सफर्मर जडान, भूमिगत इन्धन भण्डारण ट्यांकी निर्माण भएका थिए । यी ३ वटै योजनामा करिब ६९ करोड रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर छ ।
सेक्युरिटी प्रेस स्थापना गर्ने सम्बन्धमा गुरुयोजना र लागत अनुमान स्वीकृत नै नगरी अघि बढाइएको मेसिन तथा उपकरणको खरिद प्रक्रिया त्रुटिपूर्ण रहेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा औंल्याएको थियो । खरिद योजनाबिना ८६ करोड २७ बढी खर्च भएको देखिएको हो । जसमा १ करोड ९९ लाख ४ हजारको गाडी किनिएको थियो । खरिद भएका कतिपय उपकरणहरू उपयोगविहीन रहेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याए पनि पौडेलमाथि कुनै कारबाही भएको थिएन ।
यो देशका सबै पावर सेन्टरलाई मुट्ठीमा राखेको र अख्तियार जस्ता निकायले आफूलाई छुन नसक्ने भ्रममा पौडेल थिए । तर नीतिगत भ्रष्टाचार गरेर अरब जम्मा गरे पनि सबैलाई पैसाको बलमा प्रभावमा पार्न सकिन्न भन्ने पाठ पनि विकल पौडेलजस्ता भ्रष्टाचारका खलपात्रहरुलाई आयोगले सिकाएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend