काठमाडौं । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्याज तस्करले प्रहरीमाथि आक्रमण गरेका छन् । भारतबाट प्याज तस्करी गरेर ल्याउँदै गरेका तस्कर र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा तीन प्रहरी र एक युवकसहित चारजना घाइते भएका छन् ।
यस्तै प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय युवक रञ्जन यादव सख्त घाइते भएका हुन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा १२ राउन्ड फायर गरेको हो ।
सो क्षेत्रबाट स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । गएराति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्रनजिकै प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । सोही क्रममा स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।
प्रहरीका अनुसार अहिले पनि सो क्षेत्रमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।