Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुकेश चौरसिया हत्या प्रकरण : हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


    बुधबार, कार्तिक १२ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका नेता कार्यकर्ताले आज यहाँ प्रदर्शन गरेका छन् । नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

    नेकपा पर्साको आयोजनामा मुरलीबगैँचास्थित रातोबङ्गला अगाडिबाट निकालिएको विरोध जुलूसले नगरका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर चौरसियाको हत्यारालाई कारवाहीको माग गर्दै  प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    नेकपा विन्दवासनी गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले प्रजिअ आस्मान तामाङमार्फत  प्रधानमन्त्रीलाई  पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाए । अध्यक्ष चौरसियाले बुझाएको ज्ञापनपत्रमा चौरसियाको परिवारले दिएको किटानी जाहेरी दर्ता गरी दोषीलाई कारवाही  गर्नुपर्ने,  चौरसियालाई शहीद घोषणा गरी  आश्रित परिवारलाई  सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, झडपमा परी घाइते भएकाको निःशुल्क उपचार गर्नुपर्ने र  पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ ।

    परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण  पाँच दिनदेखि  नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते हुनुभएका चौरसियाको यही कात्तिक ७ गते  मृत्यु भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार