काठमाडौं । बंगलादेशको राजधानी ढाकामा फ्रान्सको सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । इस्लामिक अतिवादविरुद्ध फ्रान्सले लिएको कडा नीतिको विरोधमा बंगलादेशमा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोको पुतला जलाएकाे बीबीसीले जनाएको छ ।
म्याक्रोले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेपछि इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध विरोध प्रदर्शन भइरहेको खबरमा उल्लेख गरिएको छ ।
प्रहरीकाे अनुमानअनुसार फ्रान्सविरुद्धकाे विराेधमा झण्डै ४० हजार मानिसहरु सहभागी थिए । याे कार्यक्रमकाे आयाेजना इस्लामी आन्दाेलन बंगलादेशले गरेकाे हाे । याे बंगलादेशकाे ठूलाे इस्लामिक पार्टीमध्ये एक हाे ।
प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिष्कारकाे नारा लगाइरहेका थिए र राष्ट्रपति म्याक्राेलाई सजाय दिन माग गरिरहेका थिए ।
गएकाे सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेआनले पनि फ्रान्सका सामान बहिष्कार गर्न आफ्ना नागरिकलाई आह्वान गरेका थिए । त्यसपछि युरोपेली देशका सरकारले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोको समर्थन गर्दै टर्कीका राष्ट्रपति अर्दाेआनको आलोचना गरेका थिए ।
यस महिनाकाे सुरुवातमा पैगम्बर माेहम्मदलाई लिएर छापिएकाे एक कार्टुनकाे विषयमा फ्रान्समा एक शिक्षककाे हत्या गरिएकाे थियाे ।