काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतद्वारा दोषी ठहर भई फरार रहँदै आएका एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
भगवती ढुंगेलको जाहेरीअनुसार उच्च अदालत विराटनगरबाट एक महिना कैद र २५ लाख रुपैयाँ जरिवाना र सुरेन्द्रकुमार उप्रेतीको जाहेरीअनुसार अर्को मुद्दामा सोही अदालतले एक महिना कैद र ९० लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका राजेन्द्रप्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।
पहिलो मुद्दामा गत वर्ष पुस १४ गते र दोस्रो मुद्दामा सोही वर्ष पुस २१ गते अदालतले उनलाई दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गरेलगत्तै फरार रहँदै आएका प्रसाईलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले मंगलबार झापाको कन्काई नगरपालिका–३ बाट पक्राउ गरेको हो ।
दसैँका कारण अदालत बिदा भएकाले अदालत खुलेपछि मात्र निजलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राकेश थापाले जनाएका छन् ।