Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने


    मंगलबार, कार्तिक ११ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । 

    अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ ।

    सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो ।

    तनहुँमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । 

    सो कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६÷६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् । 

    सोहीबमोजिम असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ समितिको संयोजक बनेका छन् । 

    सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बाँकी जग्गाधनी प्रमाणपुर्जा नभएका घरधुरीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार