बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिमा प्रहरी र जनप्रतिनिधिकै मिलेमतोमा नदीमा अवैध दोहन बढेको छ । ढलैयास्थित राप्ती नदीबाट राति–राति बालुवा, गिट्टी लगायत नदीजन्य पदार्थ निकालेर बिक्री हुने गरेको छ । जिल्लाका एसपी ओम रानादेखि स्थानीय प्रहरीलाई समेत सेटिङ मिलाएर यसरी अवैध चोरी निकासी हुने गरेको छ । दशैंको मौकामा झन् चोरी निकासी बढेको छ ।
फत्तेपुर चौकीका असई जंगबहादुर एमसी तथा डुडुवा गाउँपालिका गाउँपालिकाको बनकट्टी चौकीका इन्चार्ज सई देवीलाल घर्तीले प्रतिटिप्पर पाँच हजार रपैयाँ लिने गरेका छन् । व्यापारीहरु अर्जुन बुढाथोकी, पल्टु थारु, प्रदीप पौडेल, हसिब खाँ र गणेश यादबले यस्तो अवैध चोरी निकासी गर्दै आएका हुन् । उनीहरुले गाउँपालिकादेखि जिसस र जिल्लाका प्रहरीलाई समेत सेटिङ मिलाएको स्रोत बताउँछ । बाँकेका एसपी ओम रानाले अवैध दोहन गर्नेलाई संरक्षण गरेका छन् । रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको प्रमाणित हुँदा पनि कारबाहीबाट जोगाइएका र एसपी बढुवापछि पनि कास्कीपछि बाँकेमा सरुवा भएका राना प्रहरीभित्र राम्रो छवि भएका अधिकृतमा पर्दैनन् ।
खजुरामा काठ तस्करी
उता खजुरा गाउँपालिका वडा नम्बर २ मा अवैध काठको कारोबार बढेको छ । स्थानीय पूर्ण मल्लले सञ्चालन गरेको मैटहजा समिलमा रातीको समयमा मानखोला, गौघाट हुँदै बर्दियाको जंगलबाट सालका काठ तस्करी हुने गरेको छ ।
बर्दियाबाट पर्स सुनुवार र इन्द्र सुनुवारले सो काठ तस्करीको सेटिङ मिलाएका छन् । स्थानीय प्रहरीलाई समेत सेटिङ मिलाएर त्यसलाई बैध काठ भएको देखाई बिक्री वितरण हुने गरेको छ ।