Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती


    शुक्रबार, कार्तिक ७ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गोरखा । झन्डै चार सय वर्षदेखिको परम्परालाई निरन्तरता दिँदै गोरखा दरबारको दशैंघरबाट काठमाडौंस्थित हनुमानढोकामा फूलपाती पठाइएको छ ।

    शुक्रबार बिहान गोरखा दरबारका कर्मचारी चूडामणि तिवारीले बा२झ ३३२१ नम्बरको गाडीमार्फत फूलपाती हनुमानढोका लगेका हुन् ।

    हनुमानढोका पठाउन तथा गोरखा दरबारको दशैंघरमा भित्र्याउन शुक्रबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वनलगायत जंगलबाट ९ प्रकारका फूलपाती संकलन गरेका थिए । ‘परपम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौंस्थित हनुमानढोका पठायौँ,’ गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराईले भने, ‘यस वर्ष कोभिड त्रासका कारण धूमधामका साथ कार्यक्रम भएन, विधि पूरा गरी परम्परालाई निरन्तरता दिएका हौँ ।’

    तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारको फूलपाती हनुमानढोका भित्र्याउने प्रचलन सुरु भएको हो । विगतमा तामझामपूर्वक फूलपाती काठमाडौं पठाइने गरे पनि यस वर्ष कोरोना महामारीका कारण सामान्य तबरले पठाइएको हो ।

    सडक सञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केवलपुर–जीवनपुरको पैदलमार्ग हुँदै लैजाने प्रचलन थियो । पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडक सञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार