काठमाडाैँ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट जोगाउन नेपालीमै कोरोनाको औषधि बन्न लागेको छ।
नेपालमा औषधि अनुसन्धानमा नयाँ इतिहास रच्दै नेपाल सरकार, स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र देउराली(जनता फर्मास्युटिकल्सको सहकार्य नेपालमै पहिलो पटक उक्त कोरोनाको औषधि बन्न लागेको हो।
देउराली-जनता फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको फाभिपिराभिर(फाभिर २००) ट्याबलेट कोभिड १९ को उपचारको लागि फेज ३ क्लिनिकल ट्रायल समेत सुरूवात भइसकेको छ।
कोभिड–१९ का बिरामीहरूको उपचार/प्रयोग गर्न चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि विभागबाट स्विकृति प्राप्त भएको हो।
यो औषधि विश्वका अन्य सात राष्ट्रले मात्रै उत्पादन गरेका छन्। औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबी उत्पादक कम्पनी देउराली जनताको छ।
हालसम्म फाभिपिराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बांग्लादेश लगायतका देशले कोभिड-१९ को उपचारमा अत्यावश्यक अवस्थामा प्रयोग गर्न स्वीकृति दिएका छन्।
औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा आवश्यक मात्रामा औषधि उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार विभागबाट अनुमति लिएर उत्पादन भएको उक्त औषधिको क्लिनिकल अध्ययनको लागि अनुमति दिइएको हो। अन्तर्राष्ट्रियस्तरमा पनि उपयोग र धेरै प्रयोग भइरहेकोले नेपालमा पनि क्लिनिकल अध्ययनको अनुमति दिइएको ढकालले बताए।
अनुमतिपछि कति बिरामीमा परीक्षण गर्ने, कति परीक्षणलाई सफल मान्ने भन्ने कुरा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने प्राविधिक र वैज्ञानिक अध्ययनबाट मात्रै थाहा हुने ढकालले बताए।