काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ ।
प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक प्रेस नोट जारी गर्दै प्रम ओली र गोयलबीचको भेट पुषेटि गरेका हुन् ।
बुधबार बेलुवा दुईजनाबीच बालुवाटारमा भेट भएको थापाले जानकारी दिए ।
भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
रअ प्रमुख गोयलको भेटबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा केही बताएको छैन । प्रधानमन्त्रीको मातहतबाट नै यो भ्रमण भएकाले परराष्ट्रलाई जानकारी नै नभएको बताइएको छ ।
यसअघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने गोयलसँग भेट नभएको भन्दै विज्ञप्ती जारी गरिसकेका छन् ।